वासिंगटन- अमेरिकी शेयर बजार डाउ जोन्समा उच्च अंकको गिरावट आएको छ। सोमबारको कारोबार बन्द हुँदा परिसुचक १ हजार १ सय ७५ अंकले झरेको हो।
डाउ जोन्स इन्डस्ट्रियल एभरेज इन्डेक्समा ६ वर्षपछि सबैभन्दा धेरै ४.६ प्रतिशतले कमी आएर काराेबार २४ हजार ३ सय ४५ दशमलब ७५ अंकमा पुगेको छ।
सो गिरावट सन् २०११ को अगस्टपछिकै सबैभन्दा ठूलो हो।
एसएन्डपी ५ सय स्टक, इन्डेक्स ३.८ प्रतिशत र नेस्डेक ३.७ प्रतिशतले घटेको जनाइएको छ।
शेयर बजारमा पछिल्लो केहि महिनामा लगातार वृद्धि भइरहेको थियो। जसको कारण शेयरको मूल्य बढ्न सक्ने भन्दै चिन्ता जनाइएको थियो।

अमेरिकाको केन्द्रिय बैंकले यो वर्ष शेयर बजारमा धेरै उथलपुथल हुने बताएको छ।
केन्द्रिय बैंकले ब्याजको दर बढाउने जानकारी गराएपछि परिसुचकमा भारी मात्रामा गिरावट आएको बताइएको छ।
अमेरिकी शेयर बजारको असर बेलायत तथा एसियाली देशहरुमा समेत परेको छ।
बेलायतमा माथिल्लो स्थानमा रहेका कम्पनीहरुको कारोबार ह्वात्तै घटेकाे छ। सोमबारको अन्तिम कारोबार समयसम्म बेलायतको एफटिएसई इन्डेक्स १.४६ अर्थात १ सय ८ अंकले गिरेको थियाे।
यता अधिकांश एसियाली देशहरुको शेयर मंगबार बिहानैदेखि प्रभावित भएको छ। जापानको परिसुचक निकीमा केहि सुधार हुनुपूर्व २ सय २५ अर्थात ४.८ प्रतिशतले कमी आएको थियो।
अष्ट्रेलियामा २.७ तथा दक्षिण कोरियाको कोस्पी २.३ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।