काठमाडौं- पुँजी बजार नियामक निकाय नेपाल धितोपत्र बोर्डले सी–आस्वाका सम्बन्धमा कतिपय लगानीकर्ताहरु अझै अन्योलमा परेको भन्दै थप प्रस्ट पारेको छ।
सी-आस्वा प्रणाली मार्फत सेयर खरिद गर्न आवेदन दिँदा लगानीकर्ताले सी–आस्वा रजिस्ट्रेसन नम्बर लिई अनलाइन तथा सी–आस्वा फारम भर्ने दुवै विकल्प खुला हुने बोर्डले जनाएको छ।
सी–आस्वामा अनलाइनमार्फत आफैंले सेयर भर्न नसक्ने लगानीकर्ताले बैंकमा गएर सी–आस्वा फारम भरेर पनि सेयरमा आवेदन दिन सक्ने धितोपत्र बोर्डले प्रस्ट्याएको छ।
बोर्डले कम्प्युटरकृत प्रणाली मार्फत आवेदन दिने कार्यलाई थप व्यवस्थित तथा छिटो-छरितो बनाउने उद्देश्यले आस्वा प्रणाली लागू गर्न सिडिएस एन्ड क्लियरिङले सेयर निष्कासनको सेवा सञ्चालन गरिरहेको जनाएको छ। उक्त निर्देशिका बमोजिम सिडिएस एन्ड क्लियरिङबाट सफ्टवेयर तयार गरी आउँदो फागुन ११ गतेदेखि अनिवार्यरुपमा सी-आस्वा प्रणाली लागू गर्न सूचना प्रकाशित गरिएकोमा केही लगानीकर्ता तथा सञ्चार माध्यमले लगानीकर्ताहरुले आवेदन अनलाइन मार्फत मात्र गर्नुपर्ने भनी भ्रम पर्न गएको सम्बन्धमा यस बोर्डको ध्यानाकर्षण भएको जनाएको छ।
यसरी सी–आस्वा प्रणाली मार्फत सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा सी–आस्वा रजिस्ट्रेशन नम्बर लिई अनलाइन तथा सी–आस्वा फारम भर्ने दुईमध्ये एक प्रक्रियाबाट आवेदन दिनसक्ने व्यवस्था रहेको बोर्डको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।