काबुल- अफगानिस्तानको राष्ट्रिय सेनाले तालिवान समूहको सैनिक तालीम केन्द्र ध्वस्त पारिदिएको छ।
त्यस केन्द्रमा राखिएका ३० वटा बम पनि निस्क्रिय बनाएको रक्षा मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
अफगान राष्ट्रिय सैनिकले बादख्शान प्रान्तको वार्डोज जिल्लामा तालिावान लक्षित सो कारबाही गरेको हो।
कारबाहीको क्रममा बारुदी सुरुङ्गलगायत कम्तीमा ३० वटा विस्फोटक पदार्थलाई निस्क्रिय बनाएको बताइएको छ।
अफगान सुरक्षा अधिकारीहरुलाई तालिवानविरुद्धको कारबाहीमा केही महिनायता अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले स्थल र हवाई कारबाहीमा सहयोग गर्दै आएका छन्।
सरकारी अधिकारी र सुरक्षाबललक्षित आक्रमण केही महिनायता बढेपछि अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले पुनः तालिबानमाथि कारबाही सुरु गरेका हुन्।
यसैबीच अफगानिस्तानको पार्वान प्रान्तको प्रान्तीय राजधानी चरिकारबाट करिब ५० किलोमिटर टाढा रहेको सियागुद जिल्लामा गरिएको सुरक्षा कारबाहीमा कम्तीमा १० सशस्त्र लडाकूको मृत्यु भएको छ।
सो कारबाहीको विषयमा तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेको छैन। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।