काठमाडौंँ- नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा २७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ।
बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुवैमा बढोत्तरी भएको हो।
अघिल्लो वर्षको तुलनामा ६ दशमलव ९८ प्रतिशत तथा रकमको आधारमा ३० दशमलव ४५ प्रतिशतले वृद्धि भई कूल ४६ वटा संस्थाले सार्वजनिक निष्काशनको अनुमति लिएका छन्।
विभिन्न ९ वटा कम्पनीको २ अर्ब ८६ करोड रुपैयाँ बराबरको साधारण शेयर(आइपिओ), तीन कम्पनीको २ अर्ब ६७ करोड बराबरको थप सार्वजनिक निष्काशन(एफपी), ४ कम्पनीको सामूहिक लगानी कोषको ४ अर्ब ७० करोड रुपैयाँ बराबरको इकाई निष्काशन र ३० कम्पनीको १७ अर्ब ५३ करोड रकम बराबरको हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिइएको छ।
बोर्डकाअनुसार ३० वटा संगठित संस्थाले ७ अर्ब ८२ करोड रकम बराबरको बोनस शेयर दर्ता गराएका छन्। गत आर्थिक वर्षको यस अवधिमा ५२ वटा कम्पनीले १० अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस शेयर दर्ता गराएका थिए।
बोर्डले सार्वजनिक निष्काशन अनुमति दिने प्रक्रियालाई छिटोछरितो बनाएको छ। तोकेका विवरण तथा कागजात प्राप्त भएको मितिले सात दिनभित्र अनुमति दिने गरिएको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए। बोर्डमा विभिन्न १५ संस्थाले आइपीओ निष्काशनको लागि आवेदन दिएकोमा ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनको क्रममा छन्।
यस्तै १० कम्पनीको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ। यसैगरी १७ कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेकोमा ३ वटा अनुमति प्राप्त हुने चरणमा पुगेको छ।
आवेदन दिएका विभिन्न १५ कम्पनीको ३ अर्ब ९० करोड तथा १७ कम्पनीको ११ अर्ब ७६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशनको विभिन्न चरणमा रहेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।