काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले चिनियाँ विदेशीमन्त्री वाङ यीसँगको शिष्टाचार भेटमा सो विश्वास व्यक्त गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो भएको प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले उपयुक्त समयमा राष्ट्रपति सीको नेपाल भ्रमण हुने विश्वास दिलाएका थिए।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।
त्यस क्रममा प्रधानमन्त्री ओलीले चीनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा पुर्याउँदै आएको सहयोगका पनि खुलेर प्रशंशा गरे।
नेपाली भूमि कुनै पनि मुलुकको विरुद्ध प्रयोग हुन नदिने नेपालको अडान पनि प्रधानमन्त्री ओलीको दोहोर्याएका थिए।
भेटमा विदेशमन्त्री वाङले राष्ट्रपति सी र चिनियाँ सरकारले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुःखी नेपाली’को नारालाई पूर्ण समर्थन रहेको सन्देश पठाउनु भएको पनि बताएका थिए।
त्यसक्रममा चिनियाँ राष्ट्रपति सी र सरकारले प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गर्नु भएको पनि बताउनु भएको परराष्ट्र सल्लाहकार भट्टराईले बताए।
भेटमा चीन र नेपालबीच भएको द्विपक्षीय समझदारी कार्यान्वयनमा पनि जोड दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। लगत्तै चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्या भण्डारीसँग पनि शिष्टाचार भेट गरेमन थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।