काठमाडौं- नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरीय संयन्त्रको बैठक सकिएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलबीच राजधानीमा सोमबार द्विपक्षीय बैठक भएको थियो।
दिउँसो साढे ३ बाट सुरु भएको द्विपक्षीय वार्ता करिब ४ः ४५सम्म चलेको थियो।
द्विपक्षीय बैठकपछि नेपाल र चीनबीच तीन वटा सहमति/समझदारी पत्रमा हस्ताक्षेर भएको छ।
दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा भएका सम्झौतामा मनाङमा अस्पताल बनाउनका लागि चीनले ३५ करोड रुपैयाँ सहयोग गर्ने, विपत् पीडितका लागि ५ हजार थान पाल सहयोग स्वरुप दिने र चिनियाँ भाषा पढाउन नेपालमा स्वयंसेवक शिक्षक उपलब्ध गराउने छन्।
पहिलो र दोस्रो सम्झौतामा अर्थसचिव राजन खनाल र चाइना डेभलपमेन्ट को-अपरेसनका उपाध्यक्ष देङ बोकिङले हस्ताक्षर गरेका छन्।
त्यस्तै चिनियाँ स्वयंसेवक शिक्षक उपलब्ध गराउने समझदारीमा शिक्षा तथा विज्ञान र प्रविधि मन्त्रयालका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले हस्ताक्षेर गरे।
चिनियाँ विदेशमन्त्री वाङ ३ दिने भ्रमणका लागि आइतबार नेपाल आएका थिए।
परराष्ट्रमन्त्री ज्ञवालीको निमन्त्रणामा नेपाल आएका उनको भ्रमणलाई चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको आधार तय गर्ने भ्रमणका रुपमा हेरिएको छ।
चिनियाँ विदेशमन्त्री यीले सोमबार नै प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नेछन्।
ओलीसँग उनले करिब ४५ मिनेट कुराकानी गर्ने बताइएको छ।
त्यसपछि शितल निवासमा राष्ट्रपति विद्या भण्डारीसँग बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म भेटवार्ता गर्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।