काठमाडौं– सभामुख कृष्णबहादुर महरा र आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेल (Sean O Fearghail) बीच द्विपक्षीय भेटवार्ता भएको छ।
सभामुख महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका समकक्षी सेनसँग सोमबार सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्नुका साथै संसदीय प्रक्रिया र अभ्यास, संसदीय मैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापार लगायतका विषयमा छलफल भएको थियो।
सो अवसरमा सभामुख महराले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध एक सय वर्षभन्दा पुरानो रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध थप सुमधुर र घनिष्ठ बनाउन सभामुख नेतृत्वको प्रतिनिधि मण्डलको नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपालको संघीय शासन प्रणाली, संघीय संसद र संसदीय अभ्यासका बारेमा जानकारी गराउँदै सभामुख महराले नेपालमा नयाँ संविधान निर्माणपछि संसदले विभिन्न ऐन कानुन निर्माणमा मुख्य जोड दिएको बताए।
‘नेपालको संघीय संसद सबै वर्ग, लिंग, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी रहेको छ', सभामुख महराले भने, ‘देशका सबै जनसमुदायको समुचित प्रतिनिधित्वका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अपनाएर जनप्रतिनिधिहरु चयन भएका छन्, त्यस्तो व्यवस्था हामीले संविधानमै सुनिश्चित गरेका छौं।’
संघीय संसदले नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूह गठन गरिसकेको जानकारी दिँदै सभामुख महराले संसदीय मैत्री समूहमार्फत दुई देशबीचको राजनीतिक सम्बन्ध प्रगाढ हुनुका साथै संसदीय परम्परा, अभ्यास र प्रक्रिया आदान प्रदानमा महत्वपूर्ण भूमिका रहने बताए।
सभामुख महराले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको जानकारी गराएका थिए। त्यसका लागि आयरल्याण्डका पर्यटकहरुका लागि नेपाललाई पनि एक गन्तव्यका रुपमा बनाउन पहल गरिदिन पनि समकक्षी सेनसँग अनुरोध गरे।
भेटवार्ताका क्रममा आइरिस सभामुख सेन फेरेगलले नेपाल आउन पाउँदा निकै खुसी लागेको बताए। उनले नेपाल भ्रमणका लागि निम्तो गरेकोमा सभामुख महरालाई धन्यवाद व्यक्त गरे।
आयरल्याण्डमा अहिले करिब ३ हजारको संख्यामा नेपाली नागरिकहरु व्यापारलगायत विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै आइरिस सभामुख सेनले आफूहरु नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा जाने गरेको र नेपाली समुदायले आयरल्याण्डमा राम्रो छाप छोडेको बताए।
नेपालका हिमाली क्षेत्रहरुमा रहेका विद्यालय तथा हस्पिटलहरुमा आयरल्याण्ड सरकारले आर्थिक सहयोग गरिरहेको उनले चर्चा गरेका थिए।
भेटवार्तामा आइरिस सभामुख सेनसहित भ्रमण टोलीका सदस्यहरु आइरिस पार्लियामेन्टका सांसदहरु मौरिन सुल्लिभान, क्याथरिन नून, जोड हमिल्टन लगायतको सहभागिता रहेको थियो। त्यस्तै, नेपाली टोलीको तर्फबाट सभामुखका साथै नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहका संयोजक सांसद राधा ज्ञवाली, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालय सचिव भरतराज गौतमलगायतको सहभागिता रहेको थियो।
५ दिने नेपाल भ्रमणमा रहेको आइरिस सभामुख नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लगायतले भेट्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।