काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल जनतालाई निरंकुशताको जाँतोमा पिस्न दिन नसकिने बताएका छन्।
'नेपाली जनतालाई हिजोका निरंकुशतावादी वा अरु कुनै पनि नामका प्रतिक्रियावादीलाई निरंकुशताको जाँतोमा पिस्न दिन सकिँदैन। त्यो स्वीकार्य छैन', उनले भने, 'त्यो इतिहास र जनतालाई स्वीकार्य छैन। हामीलाई स्वीकार्य छैन। हामी हाम्रो कमजोरी सच्याउन चाहन्छौं। अपुग छ भने पूरा गर्ने बाटोमा जान चाहन्छौं।'
सोमबार २१ औ सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी कार्यालय धुम्बराहीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नैतिक चरित्र र आचरणको दृष्टिकोणले हेर्दा आफूहरु धेरै नै खस्केका भन्ने महसुस हुने गरेको बताए। 'हामी अलि बढी नै आत्म केन्द्रित, व्यक्तिवादी, आदर्शबाट विचलनतिर जान खोजेको आभास हुने गरेको छ', उनले थपे।
उनले क्रान्तिकारी कमरेडहरुलाई स्मरण गर्नुको उद्देश्य पार्टीलाई फेरि क्रान्तिकारीकरण गर्ने, आदर्श उन्मुख गराउने, नैतिक चरित्रमा माथि ल्याउने, समाजका सबैले पार्टीका सदस्य र नेताहरुलाई राम्रा मान्छेका रुपमा स्वीकार्ने पार्टी बनाउने आवश्यकतामा जोड दिन जरुरी भएको बताए।
उनले जनताको आशा र अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्ने प्रश्नप्रति पार्टी नेतृत्वको ध्यान गहिरोगरी गएको बताए।
उनले पार्टी एकतालाई पनि अन्तिममा पुर्याएको बताए।
'हामी एकताबद्ध हुनुको र कम्युनिस्ट पार्टीलाई बलियो बनाउनुको विकल्प छैन', उनले भने, 'सरकारलाई पनि प्रभावकारी बनाएर जनतालाई सेवा गर्नुको अर्को विकल्प छैन।'
(फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।