काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संघीयता सञ्चालनका लागि दातृ निकायबाट रकम ल्याए देश उनीहरुको पोल्टामा चेतावनी दिएका छन्।
'बीपी कोइरालाको डायरी’पुस्तक विमोचनमा बोल्दै कोइरालाले दातृ निकायबाट सहयोग ल्याएको प्रति आपत्ति जनाए। नेपालको विविधतामा संघीयता आवश्यक हुने बताउँदै उनले भने,‘संघीयता चलाउनका लागि विदेशी निकायसँग पैसा ल्याइएको छ। संघीयता हाम्रो पैसाले चलाउने हो। विदेशीका पैसाले चलायौं भने उनीहरुकै पोल्टामा देश जान्छ।’
राष्ट्रियता अत्यन्तै कमजोर अवस्थामा पुगेको उनले बताए। कोइरालाले भने,‘संविधानमा लोकतन्त्र लेखिएको छ। तर छ कि छैन भन्ने अवस्था छ। संविधानमा लेखिएका कुरा सरकारले पालना गरेको छैन।’
सरकारप्रति रुष्ट कोइरालाले संसदमा पेश भएका विधेयकप्रति आपत्ति जनाए। मानव अधिकार आयोगलाई महान्यायधिवक्ताको कार्यालय बनाउन लागिएको उनको आरोप थियो। मिडिया काउन्सिल विधेयकमा जरिवानाको विषय भन्दा मिडियालाई कन्ट्रोल गर्ने सरकारी नियत खतरापुर्ण रहेको बताए।
नेपाली कांग्रेसका कार्यकर्ता कम्युनिस्टसँग लड्न भिड्न सक्ने अवस्थामा नरहेको निरिहता व्यक्त गरे। कोइरालाले भने,‘हामीहरुको हतियार भुत्ते भएको छ। सरकारमा हुँदा गरेका राम्रा कार्यको प्रचार कांग्रेसले जनतालाई सुनाउनै सकेन।’
२०४८ सालमा बनेको कांग्रेसको सरकारले तीन वर्षको अवधिमा ९३ हजार रोजगारी सिर्जना गरेको दाबी गरे। सुधारका कार्यलाई कांग्रेसले नै नजरअन्दाज गर्दा पार्टी कमजोर भएको सुनाए।
गणतन्त्रमा खतरा पूर्वराजा र विप्लवको नेकपाबाट नभएको बताएका कोइरालाले भने,‘गणतन्त्र जान्छ भने सरकारका कारणले जान्छ। गणतन्त्र धरापमा भए सरकारबाटै छ।’
'बीपी कोइरालाको डायरी'लाई शिखा बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।