काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसद्मा पेस गर्न सरकारसँग माग गरेको छ।
आईतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले डेंगु रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसद्मा पेस गर्न सरकारसँग माग गरिन्।
उनले ७० हजार भन्दा बढी नागरिकलाई सो रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै त्यसबारे ठोस योजना बनाएर संसद्मा पेस गर्न सरकारलाई 'रुलिङ' गर्न सभामुख कृष्णबहादुर महराको पनि ध्यानाकर्षण गराइन्।
कांग्रेस सचेत भुसालले 'जनस्वास्थ्यसँग जोडिएका यस्ता विषयमा सरकार किन गम्भिर नभएको?' भनि प्रश्न पनि गरिन्। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकहरुको पद खारेज गरेर हालसम्म पनि डेंगू नियन्त्रणका लागि गाउँ-गाउँमा चिकित्सकहरुको टोली परिचालन हुन नसकेको भन्दै आपत्ति पनि जनाइन्।
त्यसैगरी, कांग्रेसकी अर्की सांसद डिला संर्गौलाले पनि डेंगु रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन्।
चिकित्सकका अनुसार हाल सो रोगको संक्रमणमा परि ३ हजार ५ सय ८० जना बिरामीहरु अस्पतालमा भर्ना भएका छन्। त्यसैगरी सो रोगको संक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ। सांसद संग्रौलाले महामारीको रुपमा फैलिन लागेको सो रोगको नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप पनि लगाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।