काठमाडौं- संघीय संसद्को प्रतिनिधिसभामा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै त्यस्तो कार्य गर्नेलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठेको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवन जीउन बाध्य हुने भन्दै कानुन संशोधन गरेर भए पनि एसिड आक्रमण गर्ने दोषीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरिन्।
अर्की सांसद जुली कुमारी महतोले एसिड आक्रमणका घटना नियन्त्रण गरी महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगन्ज महानगरपालिका-३, छप्कैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो। उनको अहिले काठमाडौंको र्कीतिपुर अस्पतालमा उपचार भइरहेको छ।
सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न पनि माग गरिन्। सांसद महतोले भनिन्, 'महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवश्यक छ। प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरैपटक भएकाले रोक्न कडा कदम चाल्न जरुरी छ। प्रदेश २ को सरकारले 'बेटी पढाओ, बेटी बचाओ' अभियान जोडतोडले लागु गरेको छ। बेटी नै बाचेनन् भने यो अभियानको औचित्य हुने छैन।'
त्यसैगरी बैठकको शून्य समयमा बोल्दै अन्य सांसदहरुले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको निःशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद नरमाया ढकालले एसिड आक्रमणको घटनाको भर्त्सना गर्दै दोषीलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारबाही गर्न माग गरिन्।
सांसद पार्वता डिसी चौधरीले मुस्कान खातुनको सम्पूर्ण उपचार खर्च व्यहोर्दै दोषीलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद पार्वती कुमारी विशुंखे, प्रमिला राईलगायत सांसदहरुले एसिड आक्रमणको घटनाको भर्त्सना गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।