बुटवल- राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले राष्ट्रियता संरक्षण तथा भ्रष्टाचारविरुद्ध मेची महाकाली युवा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
रुपन्देहीको बुटवलमा भदौ २० र २१ मा भएको परिषद् बैठकले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले संगठनलाई देशकै एक मात्र राष्ट्रवादी युवा संगठन भएको ठहर गर्दै राष्ट्रियता संरक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
संगठनले देशका सबै विद्यालयमा अनिवार्य संस्कृत शिक्षा र नैतिक शिक्षा पठनपाठनको माग गर्ने भएको छ। त्यस्तै, परिषद् बैठकले बेरोजगार युवाका लागि रोजगारको नीति र बेरोजगारी भत्तासमेत प्रदान गर्न सरकारसँग माग गरेको छ। परिषद् बैठकले आगामी फागुन १६,१७ र १८ गते संगठनको केन्द्रीय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी बैठकले प्रदेश १,२ र ७ मा युवा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ। संगठनले नाम र झण्डा परिवर्तन गर्ने सम्बन्धमा उपाध्यक्ष दामोदर वाग्लेको संयोजकत्वमा अध्ययन समिति निर्माण गरेको छ।
राप्रपा युवा संगठनले अध्यक्ष प्रकाश रिमालको राजनीतिक प्रतिवेदन, महासचिव विनोद भारतीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष गुणराज राजभण्डारीको आर्थिक प्रतिवेदन तथा प्रवक्ता सुजित केसीको युवा नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।