रुपन्देही– अहेबका रुपमा १८ वर्ष काम गर्दा कमला भट्टराईले कति जनाको उपचार गरिन्, लेखाजोखा हुने कुरै भएन । उपचारका क्रममा हुने सबै घटना–दुर्घटना देखेकी उनको केही दिनअघि उपचारका क्रममा ज्यान गयो । राजधानीको ओम हस्पिटलमा भएको त्यो घटनालाई बुटवल शंकरनगरका स्थानीयहरुले पत्याउन सकेका छैनन् । हेल्थपोष्टबाट हाँसीखुसी बिदा भएकी कमलाको मृत्यु कसरी पत्याऊन् उनीहरु !
गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ४ मा जन्मेकी कमला भट्टराईले आफ्नो आधा जीवन स्वास्थ्य सेवामा बिताइन् । अहेब पदमा करिब १८ वर्ष बिताइन् । यस क्रममा पहाडका विकट गाउँहरु, दलित, गरिब बस्तीहरु, मधेसका पिछडिएका बस्तीहरुमा समेत पुगेर सेवा गरेकी थिइन्।
शंकरनगरकी माया अर्याल कमलाको आत्मीय स्वभावका कारण गाउँभरिकी प्रिय रहेको बताउँछिन् । उनी भावुक हुँदै भन्छिन्, ‘बिरामीको पीडा बुझ्ने भएकाले सबैकी प्यारी थिइन् ।’ उनका अनुसार महिला, बालबालिका र बूढाबूढीलाई उपचारका क्रममा पनि प्राथमिकता दिन्थिन्।
जन्मँदै नाकको हड्डी अलिकति बाङ्गो थियो उनको । आफन्तका अनुसार, उनले पिनासको समस्या झेलिरहेकी थिइन् । डाक्टरले शल्यक्रिया सहज हुने बताएपछि उनी नाक-कान-घाँटी विशेषज्ञ खोज्दै काठमाडौंको ओम अस्पताल पुगेकी थिइन् । उनको डा राजेन्द्र गुरागाईँको टिमले शल्यक्रिया गरेको थियो।
शल्यक्रिया पश्चात् पोस्ट अपरेसन वार्डमा सामान्य अवस्थामा निस्किएकी उनलाई एक्कासी बान्ता सुरु भएको आफन्त बताउँछन् । आफन्तका अनुसार, त्यसपछि नाकबाट निरन्तर रगत बग्न थाल्यो र पिसाब पनि रोकियो । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि आफन्त र ड्युटीमा गएका नर्सहरुले बारम्बार अस्पताल प्रशासनलाई आग्रह गर्दा पनि लामो समयसम्म कुनै डाक्टर नआएको आफन्त सन्तोष लम्साल बताउँछन् ।
यसरी शंकरनगरले एक सेवी स्वास्थ्यकर्मी गुमायो । यतिबेला आफन्तहरु अस्पतालले लापरबाही गरेको भन्दै छानबिनको माग गरिरहेका छन् । यसबारे स्वास्थ्य मन्त्रालयले छानबिन थालेको छ।
शंकरनगर भने गहिरो शोकमा डुबेको छ । स्थानीयहरु भन्छन्, ‘छानबिनमा जे देखिए पनि हामीले कमला पाउँदैनौं र उनी जस्तो अहेब त झन् पाउँदैनौं ।’
उनीहरुको चाहना छ– लापरवाही भएको हो भने कडाभन्दा कडा कारबाही होस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।