काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनबाट नेपालले तीव्र विकास र सहयोगको अपेक्षा राखेको बताएका छन्।
'नेपाल चाइना इकोनोमिक एन्ड ट्रेड कर्पोरेसन फोरम २०१९' लाई सम्बोधन गर्दै प्रचण्डले भने, 'एक चीन नीति र नेपाली भूमिलाई कुनै पनि हालतमा चीनविरुद्ध प्रयोग गर्न दिइने छैन भनेर दृढता राख्दै आएको नेपाल अब आर्थिक वृद्धिको निम्ति चिनियाँ जनता र सरकारको तर्फबाट तीव्र विकास र सहयोगको अपेक्षा राखेको छ।'
उनले नेकपाको एकताबाट सिर्जित परिस्थितिलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा रुपान्तरित गर्न चाहेको बताए। 'यस प्रक्रियामा चिनियाँ सरकार, जनता, लगानीकर्ता र व्यवसायीहरुबाट नेपाली जनता र सरकारले धेरै ठूलो आशा र अपेक्षा राखेको छ', उनले भने।
प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण बन्दै गरेको बताए। उनले आफूले सरकारको नेतृत्व गरेको समयमा बिआरआईमा जोडिने भनेर आफूले नै हस्ताक्षर गर्ने अवसर प्राप्त गरेको स्मरण गरे।
उनले चीनको विकासबाट नजिक र असल मित्रको हैसियतले गर्व लागेको पनि भनाइ राखे। 'विश्व शान्ति, स्थिरता र समृद्धिको निम्ति पनि मानव जातिले अहिले चीनतिर बडो आशा र भरोसाको दृष्टिले हेरिरहेको स्थिति छ', उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।