भक्तपुर- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता सञ्चालनमा असफल भएपछि कम्युनिष्टहरुले प्रतिगमन आउन लागेको हौवा फैलाएको बताएका छन्।
प्रदेश ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि भक्तपुरमा शुक्रबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटनमा वरिष्ठ नेता पौडेलले कम्युनिस्टहरु सत्ता सञ्चालन गर्न असक्षम हुन्छन् भन्ने पुष्टि भइसकेको दाबी गरे।
उनले भने, ‘प्रतिगमन आउन लाग्यो भनेर कम्युनिष्ट नेताहरु अत्तालिन थालेको देखिन्छ। यो केको परिणाम हो? सत्ता सञ्चालन गर्न नसकेपछि प्रतिगमनको हौवा फैलाउन लागेका छन्। यो सरासर कम्युनिस्ट सरकारको पूर्ण असफलताको परिणाम हो। दुई तिहाइ बहुमत पाएर पनि यो सरकार असफल भएको छ।’
संसद्मा दुई तिहाइ बहुमत प्राप्त सरकार गठन भएको दुई वर्ष पनि नपुग्दै जनतामा छाएको निराशाले कम्युनिस्टहरु देश चलाउन असक्षम रहेको पुष्टि भएको नेता पौडेलको भनाइ थियो। नेता पौडेलले भने, ‘सत्तारुढ दलका शीर्ष तहका नेताहरुले बेलाबेलामा भनिरहेका छन्- हामीले काम गर्न सकेनौं, प्रतिक्रियावादी शक्तिहरुले मुन्टो उठाए। प्रतिगामीले मुन्टो उठाए। यो कम्युनिष्टहरुको अक्षमता हो।’
उनले मुलुकका प्रधानमन्त्री तथा सत्तारुढ दलका ठूला नेताले नै अहिलेको व्यवस्थामाथि आक्रमण सुरु भयो भन्दै हारगुहार गर्न थालेकोमा आपत्ति जनाए। ‘प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर हारगुहार गर्न थाल्नु भएको छ। किन चलाइँदै छ प्रतिगमनको हौवा? कतै असफलता ढाकछोप गर्नका लागि त होइन,’ उनले भने।
उनले जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले प्रदेशको नाम र राजधानीसमेत टुंग्याउन नसकेको भन्दै आपत्ति जनाए। ‘दुई तिहाइ बहमुत ल्याएका छन्, प्रदेशको नाम तोक्न सक्दैनन्, राजधानी तोक्न सक्दैनन्,’ पौडेलले भने, ‘हामीले २५/२६ किलोमिटर सुरुङ खनेर ओरालिदिएको सुन्दरीजलबाट पनि सरकारले पानी दिन सकिरहेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।