संविधान कार्यान्वयन गर्न सरकारलाई खबरदारी जारी राख्नुपर्छ : शेरबहादुर देउवा

नेपाल लाइभ | २०७६ भदौ १९ बिहीबार | Thursday, September 05, 2019 १४:१५:०० मा प्रकाशित

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खबरदारी गर्न सबैलाई आह्वान गरेका छन्। 

पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने पनि स्पष्ट पारेका हुन्। 

सरकारका हरेक गतिविधि जनभावना विपरीत, संविधान विपरित भएकाले जनतामा निराशा बढेर संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नै फैलिन सक्ने अवस्था आउने खतरा बढ्दै गएको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरेका थिए। 

बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक २ दिने राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले दलित समुदायको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने र समान समस्या भएका विश्वका अन्य मुलुकका संसदसँग हातेमालो गरी विभेदविरुद्ध साझा लडाईं लडनुपर्नेमा पनि जोड दिएका थिए। 

उनले जनभावना विपरीत हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले आफ्नो पार्टीले मान्य नहुने अडान लिएको स्मरण गराएका थिए। 

सभापति देउवाले दलित विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका थिए। 

उनले दलित, आदिवासी–जनजाति समुदायको हितका लागि आफूले २०५२ सालमै प्रधानमन्त्री हुँदा धेरै काम गरेको दाबी गर्दै वर्तमान सरकार दलित समुदायको अधिकार सुनिश्चित गर्न गम्भिर नभएको आरोप लगाएका थिए। 

सभापति देउवाले संविधानले दलित समूदायको अधिकार सुनिश्चित गर्ने व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान सरकार तयार नभएको दाबी गरेका थिए। (फाइल तस्बिर)