कञ्चनपुर- बेलौरी नगरपालिकामा बनाइएका १० वटा नमूना च्याउ घरबाट ९ लाख बराबरको च्याउ बिक्री भएको छ। नगरपालिकाको कृषि शाखाबाट प्राप्त भएको २ लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी उत्पादन थालिएको थियो।
च्याउ घरबाट किसानले चार हजार ५ सय किलोग्रामभन्दा बढी च्याउ उत्पादन गरेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए । उत्पादित च्याउ २ सय रुपैयाँ प्रतिकिलोग्रामका दरले हालसम्म ९ लाख मूल्य बराबरको बिक्री भएको मल्लले जानकारी दिए। उनका अनुसार च्याउ घरमा ४ लाख रुपैयाँभन्दा बढीको च्याउ बिक्रीका लागि तयारी अवस्थामा रहेको छ।
च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेकी मीना चौधरीले च्याउको बीउ राखेको एक महिनाको अवधिमै १ लाख रुपैयाँभन्दा बढी मुल्यको च्याउ बिक्री गरेको बताइन्।
बेलौरी नगरपालिकाले १० हजार रुपैयाँ च्याउ घर निर्माणका लागि आवश्यक बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि कृषकलाई अनुदान दिएको थियो।
उनले भनिन्,'कृषि शाखाकै प्राविधिकको सल्लाहमा च्याउ खेती गर्दा थोरै परिश्रममा धेरै आम्दानी हात पारेका छौँ।'
कन्या जातको च्याउ खेती गरेका यहाँका किसानले गतिलो आम्दानी हात पर्न थालेपछि बेमौसममा समेत च्याउ खेतीलाई निरन्तरता दिने भएका छन्। यसका लागि कृषि प्राविधिकसँग सल्लाह लिन थालेको कृषक जयराम चौधरीले बताए।
'अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउ खेतीबाट मनग्य आम्दानी हुने थाहा भएको छ। पछिल्लो समय च्याउको महत्व उपभोक्ताले बुझ्दै गएका र बजारमा बिक्री हुन थालेपछि यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ।', चौधरीले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।