काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले फूल हसन अन्सारी समूहका एक युवालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१६, इनर्वाका २६ वर्षीय
'सत्यराज योगी' उपनामले चिनिने सन्तोष दास तत्मा छन्।
चौकीदारसँग १० लाख रुपैयाँ माग्ने, पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई धम्कीपूर्ण म्यासेज पठाउने अन्सारी समूहका सदस्य हुन् सत्यराज।
सत्यराजसहितको समूहले वीरगञ्जका सर्वसाधारण नागरिक, उद्योगी व्यपारीहरु तथा कारागार कार्यालयमा रहेका चौकीदार शेष भोला समेतलाई धम्क्याउँदै रकम माग्ने गरेका थिए। त्यस्तै, वीरगञ्जकै विभिन्न ठाउँमा उक्त समूहले विस्फोट समेत गराएको अनुुसन्धानबाट खुलेको छ।
सत्यराजलाई वीरगन्जको राधेमाई क्षेत्रबाट गोली हानेर पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
हातहतियार गोलीगठ्ठासहित भारतबाट वीगञ्जमा प्रवेश गर्दै गरको भन्ने सूचनाको आधारमा मंगलबार राति ९ बजेर ४० मा पर्सा प्रहरीको विशेष प्रहरी टोली राधेमाई क्षेत्रमा परिचालित भएको थियो।
सत्यराजबाट प्राप्त हतियार।
जाँच गर्ने क्रममा राति १० बजेर १० मिनेटमा पश्चिमबाट पूर्वतर्फ सशंकित अवस्थामा पैदल आउँदै गरेका व्यक्तिले प्रहरीलाई हतियार ताक्दै भागेका थिए। ती व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो। गोली चलाएर पक्राउ गरिएका व्यक्ति फूल सहन समूहका सत्यराज भएको पुष्टि भएको छ।
उनको दाहिने घुँडामा गोली लागेको छ। उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ।
गोली हानेर पक्राउ गरिएका सत्यराज २०६३/६४ सालमा हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका व्यक्ति भएको पाइएको छ।
त्यस्तै, २०६६/६७ मा पशुपति रोड करियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुबेलाई गोली हानेर उनले हत्या गरेका थिए। दुबेलाई हत्या गरेको आरोपमा दोषी ठहर हुँदै उनी ८ वर्ष ५ महिना १० दिन जेल बसेर छुटेका थिए।
प्रहरीले उनको साथबाट ५४ टाइप मोडलको पेस्तोल १ थान, १७ राउन्ड गोली, सेता प्लास्टिकमा रहेको खैरो रङको लागुऔषधजस्तो धुलो १ सय ७० ग्राम बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।