काठमाडौं- एकैदिन धितोपत्र बजारमा २ अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्काशन हुने भएको छ।
साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाले एकैदिन फागुन ११ गतेदेखि पहिलो चरणको आइपिओ निष्काशन गर्न लागेका हुन्।
साञ्जेन हाइड्रोपावर कम्पनीले ८७ करोड ६० लाख रुपैयाँ बराबरको र रसुवागढीले एक अर्ब ६४ करोड रुपैयाँको आइपिओ निष्काशन गर्न लागेको हो।
साञ्जेन र रसुवागढीले माघ महिनाभित्रै पहिलो चरणको आइपिओ निष्काशन गर्ने योजना बनाएका थिए। बोर्डले प्राथमिक शेयर हकप्रद तथा एफपिओ निष्काशनको लागि अनिवार्य रुपमा सि–आस्बा प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएसँगै दुवै कम्पनीले आइपिओ निष्काशन मिति फागुन ११ गतेलाई सरेको हो। दुवै कम्पनीको आइपिओमा बोर्डले सिआस्वा अनिवार्य गरेको छ।
रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन्। त्यस्तै, साञ्जेन कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ।
दुवै कम्पनीको आइपिओमा प्रभावित क्षेत्रका सर्वसाधारण, कर्मचारी सञ्चयकोषका कर्मचारी तथा सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, चिलिमे हाइड्रोपावरका कर्मचारीले मात्र आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।