काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाँदैछन्।
आज दिउँसो १ बजे सिल्क एयरको विमानबाट उनी सिंगापुर जान लागेका हुन्।
प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई फोन गरेर भेट्न बोलाएपछि उनी त्यसतर्फ जान लागेका गौतम निकट विश्वमणि सुवेदीले बताए। सुवेदीका अनुसार पार्टीसँग सम्बन्धित केही विषयमा गौतम र ओलीबीच छलफल हुनेछ।
नेकपा महासचिव विष्णु पौडेल भने मंगलबार नै सिंगापुर पुगेका थिए। महासचिव पौडेलसँगको भेटपछि प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई भेट्न इच्छा देखाएपछि उनी सोतर्फ जान लागेका हुन्। नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले महासचिव पौडेल र उपाध्यक्ष गौतमसँगै छलफल गरी पार्टीको आगामी रणनीतिबारे महत्वपूर्ण निर्णय लिनसक्ने बताइएको छ।
यसअघि गौतम महासचिव पौडेलसँगै मंगलबार नै त्यसतर्फ जाने बताइए पनि उनी अन्तिम समयमा गएका थिएनन्।
प्रधानमन्त्री ओली भदौ ५ गते उपचारको लागि सिंगापुर गएका थिए। सिंगापुर पुगेको भोलिपल्ट देखि नै उनको प्लाजा फेरोसिस प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टिबडीलाई निराकरण गर्ने काम भइरहेको छ। आइतबार उनका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सो प्रक्रिया आज पूरा हुँदैछ। उनी शुक्रबार नेपाल फर्किने बताइएको छ।
गत साउन १८ गते पनि प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएका थिए। ९ दिनपछि अर्थात् साउन २७ गते नेपाल फर्किएका थिए।
उनको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार चलिरहेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।