काठमाडौं– कालिका पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) आजदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ निष्काशन खुल्ला गरेको हो।
कम्पनीले निष्काशन गर्न लागेको आइपिओमा आयोजना प्रभावित गोरखाको अजिरकोट, भीमसेन, सुलिकोट, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीयबासिन्दाले शेयर खरिदका लागि दरखास्त दिन पाउनेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्कोट्स लिमिटेड र ग्लोलब आइएमई क्यापिटल लिमिटेड रहेका छन्। उक्त शेयर निष्काशन बन्द छिटोमा फागुन ६ र ढिलोमा २१ गतेसम्म हुने कम्पनीले जनाएको छ।
आइपिओ खरिद आवेदन न्युनतम १० र अधिकतम ३ हजार कित्तासम्मका लागि दरखास्त दिन पाइने व्यवस्था गरिएको छ। आइपिओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म उक्त शेयर बिक्री गर्न नपाइने कम्पनीले जनाएको छ।
इक्रा नेपालले कम्पनीको शेयरलाई ग्रेड फोर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको समग्र अवस्था हेर्दा आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।
हाल ६ मेगावाटको दरौंदी कालिका हाइड्रोप्रोजेक्ट सञ्चालन गरिरहेको कम्पनीले कर्जा भुक्तानीको लागि आइपीओ जारी गर्न लागेको हो। कम्पनीले प्राथमिक शेयरबाट उठेको रकम ठकेदार र अल्पकालीन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दीर्घकालीन कर्जा भुक्तानीको लागि प्रयोग गर्ने बताएको छ।
कम्पनीमा संस्थापकको ४२ करोड, आयोजना प्रभावितको ६ करोड र सर्वसाधारणका लागि १२ करोड रुपैयाँ हुने गरी लगानी संरचना तयार पारिएको छ। जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।