काठमाडौं- चौकीदारसँग १० लाख रुपैयाँ माग्ने, पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई धम्कीपूर्ण म्यासेज पठाउने मध्येका अर्का एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सन्तोष दास छन्। उनलाई बुधबार बिहान गोली हानी आफ्नो नियन्त्रणमा लिइएको पर्साका एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए। उनका अनुसार वीरगन्जको राधेमाई क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिने क्रममा प्रहार गरिएको गोली उनको दायाँ घुँडामा लागेको छ। उनको हाल वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।
दास यसअघि पनि कर्तव्य ज्यान मुद्दामा ९ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्। उनी भारतमा बस्दै वीरगन्जमा उद्योगी व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गर्थे। उनी सुपारी लिएर व्यक्ति हत्या गर्न वीरगन्ज आएको समयमा प्रहरीको फन्दामा परेका हुन्। उनको साथबाट एक पिस्तोल र १७ राउन्ड गोली बरामद गरिएको पर्सा प्रहरील जनाएको छ।
यो समूहका मुख्य योजनाकार फुल हसन अन्सारी हुन्। उनी भने अझै फरार छन्।
फुल हसन जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा कारागार बसेर २०७४ असोज ९ गते छुटेका व्यक्ति हुन्।
उनकै योजनामा वीरगञ्ज कारागारका चौकीदार शेख भोलासँग १० लाख रुपैयाँ यो समूहले मागेको थियो। १० लाख नदिए पर्साका सिडिओलाई भनेर उनको सरुवा गर्ने भन्दै उनीहरुले भोलालाई धम्की दिएका थिए।
त्यसपछि उनीहरुले सिडिओ समेतलाई मोबाइलमा धम्कीपूर्ण म्यासेज पठाएका थिए। सिडिओ समेतलाई आतंकित पारेर तर्साउन भन्दै यो समूहले गत साउन २४ र २८ गते वीरगञ्जका विभिन्न ठाउँमा विस्फोट गराएको थियो। विस्फोटमा केही मान्छे सामान्य घाइते समेत भएका थिए।
यसअघि गत भदौ ५ मा सोही समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।