काठमाडौं- चौकीदारसँग १० लाख रुपैयाँ माग्ने, पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई धम्कीपूर्ण म्यासेज पठाउने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२४ रामगढवा बस्ने ३२ वर्षीय इनुस अन्सारी, सोही ठाउँका २२ वर्षीय सद्दाम अन्सारी र १९ वर्षीय टाइगर भनिने जौवाद अन्सारी छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले वीरगञ्जको चण्डाल चोकबाट बुधबार पक्राउ गरिएको पर्साका एसपी सोमेन्द्रसिंह राठौरले नेपाल लाइभलाई जानकारी दिए।
यो समूहका मुख्य योजनाकार फुल हसन अन्सारी हुन्। उनी भने अझै फरार छन्।
फुल हसन जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा कारागार बसेर २०७४ असोज ९ गते छुटेका व्यक्ति हुन्।
उनकै योजनामा वीरगञ्ज कारागारका चौकीदार शेख भोलासँग १० लाख रुपैयाँ यो समूहले मागेको थियो। १० लाख नदिए पर्साका सिडिओलाई भनेर उनको सरुवा गर्ने भन्दै उनीहरुले भोलालाई धम्की दिएका थिए।
त्यसपछि उनीहरुले सिडिओ समेतलाई मोबाइलमा धम्कीपूर्ण म्यासेज पठाएका थिए। सिडिओ समेतलाई आतंकित पारेर तर्साउन भन्दै यो समूहले गत साउन २४ र २८ गते वीरगञ्जका विभिन्न ठाउँमा बिस्फोट गराएको थियो। विस्फोटमा केही मान्छे सामान्य घाइते समेत भएका थिए।
सोही समूहको खोजी गर्ने क्रममा जाँच गर्दा उनीहरु पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट ४ राउण्ड गोली, सुतली बमजस्तो देखिने वस्तु ३ थान र मोबाइल बरामद गरेको छ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत पर्साबाट हातहतियार तथा खरखजना मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
उनीहरुले बम नभएर ठूलो खालको पटका पड्काएको प्रहरीलाई बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।