काठमाडौं- राष्ट्रिय योजना आयोगको टोलीले सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरव एवं प्राथमिकताप्राप्त आयोजनाको निरीक्षण गरेको छ।
योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र सदस्य सुशील भट्टसहितको टोलीले त्यस क्षेत्रमा सञ्चालित आयोजनाको अवलोकन तथा निरीक्षण गरेको हो।
आयोगका सदस्य भट्टका अनुसार त्यस क्षेत्रमा सञ्चालित केही आयोजना सन्तोषजनक हिसाबले अघि बढिरहेको भए पनि केही आयोजनामा समस्या देखिएको छ। केही आयोजनाको अध्ययन तथा तयारी सकिन बाँकी रहेको र केहीमा जनशक्ति अभावले काम अघि बढाउन समस्या देखिएको भट्टले जानकारी दिए।
टोलीले सुदूरपश्चिम प्रदेशमा पर्ने हुलाकी राजमार्ग, दोधारामा निर्माणाधीन महाकाली पुल, मदन भण्डारी राजमार्ग, महाकाली सिँचाई आयोजनालगायतका आयोजनाको स्थलगत निरीक्षण गरेको थियो। यसैगरी डडेल्धुरा र बैतडी जोड्ने बाटोको पनि निरीषण गरेको भट्टले जानकारी दिए।
टोलीले सुदूरपश्चिम प्रदेशले निर्माण गरिरहेका बाटोको पनि निरीक्षण गरेको थियो। मध्यपहाडी राजमार्गको मंगलसेन खण्डको प्रगतिबारे पनि जानकारी लिइएको उनले बताए। 'हामीले विभिन्न आयोजनाको प्रगतिबारे जानकारी लिएका छौँ,' उनले भने।
सेती राजमार्गको पुरक इआइए नहुँदा काम अवरुद्ध भएको पाइएको पनि भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।