बुटवल- प्रदेश नम्बर ५ को पहिलो संसद बैठक आज बस्दैछ। दिउँसो १ बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको छ। पहिलो संसद् बैठकलाई ऐतिहासिक बनाउन संसद सचिवालयले पछिल्लो पाँच दिन निरन्तर काम गरेको थियो।
संसद् भवनभित्र राजनीतिक दलका आधारमा कुर्सी व्यवस्थापन गरिएको छ। संसद सचिवालयको रुपमा प्रयोग गरिएको बुटवल उद्योग वाणिज्य संघको भवन परिसर समेत रङरोगन र टायल लगाएर आकर्षक बनाइएको छ। भवनबाहिर मिडिया सेन्टर निर्माण गरिएको छ। हलभित्र संसद्को कुर्सीपछाडि फलामे रेलिङ राखेर पत्रकार, पर्यवेक्षक र कर्मचारी राख्ने व्यवस्था गरिएको छ।

कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेकाले राष्ट्रिय पार्टीका स्थानीय नेतृत्वको सर्वदलीय बैठकले पहिलो बैठकका कार्यसूची तय गरेको छ। बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ। यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र माघ २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको छ। यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले बताए।
त्यसैगरी संसद्मा प्रहरी निरीक्षक ओमप्रकाश चौधरीको नेतृत्वमा १५ जना आन्तरिक मर्यादापालक खटिएका छन्।

प्रदेश ५ मा प्रत्यक्ष र समानुपातिक गरी ८७ सांसद रहेका छन्। एमालेका ४१, कांग्रेसका १९, माओवादीका २०, संघीय समाजवादी फोरमाका ५, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद रहेका छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।