काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ४९ हजार ९ सय ५३ श्रमिक र ४ हजार ६ सय ६० रोजगारदाता आबद्ध भएका छन्। सामाजिक सुरक्षा कोषको यो तथ्यांक मंगलबार दिउँसो २ बजेसम्मको हो।
कोषमा आबद्ध तथा सूचीकृत हुने रोजगारदाता तथा श्रमिकको संख्या बढ्दै गएको कोषकी प्रवक्ता रमा भट्टराईले नेपाल लाइभलाई जानकारी दिइन्।
‘सामाजिक सुरक्षा योजनाका बारेमा श्रमिक तथा रोजगारदातालाई विस्तारै जानकारी हुँदै गएको छ। त्यसैले कोषमा आबद्ध तथा सूचीकृत हुन आउनेको आकर्षण बढ्दै गएको छ,’ प्रवक्ता भट्टराईले भनिन्।
मंगलबारसम्म कोषमा रकम जम्मा गर्ने श्रमिकको संख्या भने १४ हजार ३ सय ३२ मात्र छ। कोषमा हालसम्म खातामा लगभग ३१ लाख रकम जम्मा भइसकेको कोषकी प्रवक्ता रमा भट्टराईले जानकारी दिइन्।
कोषमा आबद्ध तथा सूचीकृत भएका श्रमिक तथा रोजगारदाताहरूको संख्या न्यून देखिएको छ। यो संख्यालाई बढाउँदै लैजान कोषले रोजगारदाताहरु सँग विभिन्न समयमा अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ।
२०७५ मंसिर ११ गते औपचारिक रुपमा सुभारम्भ भई २०७६ साउन १ गतेदेखि औपचारीक रुपमा कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषमा आगामी असोज मसान्तसम्म सम्पूर्ण श्रमिक तथा रोजगारदाता अनिवार्य रुपमा सूचीकृत भइसक्नु पर्ने कोषले जनाएको छ।
रोजगारदाता कोषमा आफू सूचीकृत भएको तीन महिनाभित्र आफ्ना श्रमिकलाई सूचीकरण गराइसक्नुपर्ने प्रावधान छ।
कोषमा विद्यालय, अस्पताल, लगायत विभिन्न सामाजिक संस्थाहरुदेखि ठूलाठूला उद्योग, होटल लगायत साना तथा ठूला संस्थाहरु आबद्ध भएका छन्।
कोषमा आबद्ध रहेका रोजगारदाताहरुले श्रमिकहरुको आधारभूत पारिश्रमिकको ११ प्रतिशत कट्टी गरी रोजगारदाताका तर्फबाट २० प्रतिशत थप गरी कुल ३१ प्रतिशत रकम मासिक कोषको खातामा जम्मा गर्नुपर्ने हुन्छ।
जगारदाताले बैंक खातामार्फत् नै कोषमा रकम जम्मा गर्न मिल्ने गरी कोषले ५३ वटा बैंक तथा वित्तीय संस्था छनोट गरिसकेको छ।
योगदान बापतको रकम कोषमा जम्मा गरेपश्चात् मात्र कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजना बमोजिमका सुविधाहरु प्राप्त गर्न सकिन्छ।
कोषले प्रारम्भमा औषधोपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनासहित ४ वटा सुरक्षा योजना अघि सारेको छ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना
यो योजना अनुसारको सुविधा योगदानकर्ताको रकम कोषमा जम्मा हुन सुरु भएको ३ महिनापछि प्राप्त हुनेछ। यस योजना अन्तर्गत योगदानकर्ताले देहाय बमोजिमको सुविधा प्राप्त गर्नेछन्।
- चिकित्सकको परामर्श सेवा
- अस्पताल भर्ना तथा शल्यक्रिया वापतको शुल्क
- रोगको परीक्षण तथा उपचार वापतको खर्च
- औषधिको बिल बमोजिमको खर्च
- योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचार बापतको खर्च
अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवत जावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकोमा चिकित्सक वा स्वास्थ्यकर्मीले विरामीको घरमै गई प्रदान गरेकोपरामर्श सेवा वापतको शुल्क।
कोषमा आबद्ध श्रमिक अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा वार्षिक एक लाख रुपैयाँमा नबढ्ने गरी निज भर्ना भएको अस्पतालमा सिधै भुक्तानी गरिनेछ।
योगदानकर्ता (कोषमा आबद्ध श्रमिक) वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्च समेत व्यवस्था गरिएको छ।
शिशुको उपचारका लागि वार्षिक रूपमा बढीमा २५ हजार रुपैयाँसम्म प्रदान गरिने व्यवस्था छ। शिशुको उपचार खर्चमा योगदानकर्ताले कुल दाबी रकमको २० प्रतिशत आफ्नो तर्फबाट व्यहोर्नुपर्नेछ व्यवस्था छ।
महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारको लागि प्रति शिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ र यस्तो रकम चौबीस हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ। पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा दाबी गर्न सक्छन्।
दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा अन्तर्गत यी २ प्रकारका सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।
- दुर्घटना वापतको सुविधा
- अशक्तता वापतको सुविधा
यस योजनामा कार्यस्थल दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा निजले खाईपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनभर निवृत्तिभरण सुविधाबापत मासिक रूपमा रकम पाउने व्यवस्था गरिएको छ।
रोजगारीजन्य बाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले सात लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यहोर्नेछ। दुर्घटना वापतको सुविधा सामाजिक सुरक्षा कोषमा सूचीकरण भई कोषले योगदान लिन प्रारम्भ गरेको मितिबाट लागू हुनेछ। योगदान गर्न छाडेपछि यो सुविधा प्रदान गरिने छैन।
आश्रित परिवार सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधा : योगदानकर्ताको मृत्यु भएमा यस योजना अन्तर्गत आश्रित परिवारलाई निम्न सुविधा प्राप्त हुनेछः
- पति वा पत्नीले पाउने निवृत्तभरण
- सन्ततिले पाउने शैक्षिक वृत्ति
- आश्रित बाबुआमाले पाउने सुविधा
- अन्तिम संस्कार खर्च
योगदानकर्ताको पति वा पत्नीले निवृत्तिभरण पाउने व्यवस्था गरिएको छ। जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले निजले जीवनभर निवृत्तभरण पाउने व्यवस्था छ। तर योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा दिइने छैन।
यसरी प्रदान गरिने निवृत्तभरण रकममा बिमाङ्कीको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्रास्फीति समायोजन गरिने व्यवस्था छ।
योगदानकर्ताको सन्ततिले शैक्षिक वृत्ति पाउनेः योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पूरा नभएको सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिकवृत्ति बापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा पाउनेछन्।
तर एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम प्रदान गरिने उल्लेख छ।
यदि कुनै श्रमिकका सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एक्काईस वर्षको उमेर पूरा नभएसम्म प्रदान गर्न सकिने व्यवस्था छ। तर निजको विवाह भएमा वा अध्ययन पुरा भएमा त्यस्तो सुविधा प्रदान गरिने छैन।
बाबुआमाले सुविधा पाउन सक्नेः योगदानकर्ताको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर निजसँग आश्रित बाबुआमा भएको अवस्थामा भने निजहरुलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम निजहरुको जीवनकालभर मासिक रुपमा प्रदान गरिनेछ।
वृद्धावस्था सुरक्षा योजना
कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोष बापत र ८ दशमलव ३३ प्रतिशत उपदानबापत समेत गरी जम्मा १८ दशमलव ३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष बापत गर्ने १० प्रतिशत योगदानको रकम गरी जम्मा २८ दशमलव ३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्ने व्यवस्था छ।
वृद्धावस्था सुरक्षा योजना अन्तर्गत निवृत्तिभरण योजना र अवकाश सुविधा योजना रहेका छन्।
निवृत्तिभरण योजना अन्तर्गत योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १८० महिना ९१५ वर्ष० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तिभरण पाउने व्यवस्था छ।
कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउनेकूल योगदान रकम एकमुष्ठ रुपमा प्रदान गरिने व्यवस्था छ।
अवकाश सुविधा अन्तर्गत निवृत्तिभरण योजना लागू हुनु अगावै रोजगारीमा रहेका योगदानकर्ताले निवृत्तिभरणको लागि निवेदन नदिएमा दफा १९ को उपदफा ९१० बमोजिम यस कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदान वापतको योगदान रकम, रोजगारदाताको तर्फबाट गरेको योगदान र सो योगदानमा कोषले गरेको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका बखत एकमुष्ठ भुक्तानी पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।