काठमाडौं- पुँजी बजारमा देखिएको पुँजीगत लाभकर सम्बन्धी अन्योल हटाउन सिडिएस एन्ड क्लियरिङ लिमिटेडले अनलाइन प्रणालीबाटै लाभकर गणना गर्ने गरी प्रणाली विकास गरेको छ।
सिडिएसले सञ्चालनमा ल्याइरहेको ‘मेरो सेयर’ सफ्टवेयरमा भारित औसतसमेत गणना गर्न सक्ने गरी स्तरोन्नति गरिएको हो। लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको धितोपत्रको लागत प्रविष्ट (इन्ट्री) गरी त्यसको भारित औसत गणना गर्ने व्यवस्था थप गरिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ। हाल यो सफ्टवेयर परीक्षणका क्रममा रहेको छ।
भारित औसत विधिबाट पुँजीगत लाभकरको विषयलाई लिएर लगानीकर्ता अन्योलमा थिए भने अर्थ मन्त्रालय र धितोपत्र बोर्डले समेत यस विषयमा निकास दिन सकेका थिएनन्। पुँजीगत लाभकरको विषयमा करदाताले स्वघोषणा गर्नुपर्ने भए पनि भारित औसत विधि झन्झटिलो र प्रक्रिया बुझ्न अप्ठेरो रहेको लगानीकर्ताको भनाइ छ।
पुँजीगत लाभकर तिर्ने विषयले सेयर कारोबारमा अनिश्चितता सिर्जना भएको भन्ने कुराको वास्तविकता बुझ्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो।
बोर्डले सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई भारित औसत विधिबाट पुँजीगत लाभकरसम्बन्धी तथ्यांक सजिलै गणना गर्न सक्ने गरी कुनै सफ्टवेयर प्रणाली विकसित गर्न भनेको थियो। अर्थ मन्त्रालय र धितोपत्र बोर्डको निर्देशनपछि सिडिएसले यस्तो सुविधा मेरो सेयर सफ्टवेयरमा समावेश गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।