काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले माछापुछ्रे बैंक लिमिटेडलाई स्पष्टीकरण सोधेको छ।
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट भएको लाभांश वितरण गर्दा नेप्सेलाई ढिलो गरी मात्र जानकारी दिएपछि स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ। बैंकको सञ्चालक समितिले भदौ ११ मा १६ प्रतिशत लाभांश घोषणा गरेको भए पनि नेप्सेलाई भने भदौ १२ गते दिउँसो १२ बजे मात्रै जानकारी दिइएको थियो।
माछापुच्छ्रे बैंकले नगद तथा बोनस सेयर घोषणा गर्दा सूचीकरण सम्झौताको अनुसुची ४ को बुँदा नम्बर ५ को सर्तबमोजिम काम नगरेको नेप्सले जनाएको छ।
‘लाभांश, बोनस वा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेमा कुन मितिसम्म कायम रहेको, शेयरधनीले त्यस्तो लाभांश, बोनस वा हकप्रद सेयर के पाउने हो, सोसम्बन्धी जानकारी त्यस्तो निर्णय हुने बित्तिकै वा भोलिपल्ट कारोबार सुरु हुनुअघि नेप्सेलाई दिनुपर्नेमा कारोबार सुरु भएपश्चात् भदौ १२ गते बिहान ११ बजेर ५८ मिनेट जाँदा मात्रै उपलब्ध गराइएको छ,’ नेप्सेले बैंकलाई सोधेको स्पष्टीकरणमा भनिएको छ।
'उक्त सूचना के-कति कारणले नेपाल स्टक एक्सचेञ्जमा उपलब्ध हुन नसकेको हो सो सम्बन्धमा पत्र प्राप्त भएको मितिले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरिन्छ,’ नेप्सले बैंकलाई पठाएको पत्रमा भनिएको छ।
माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७५/०७६ को खुद मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको जनाएको छ।
नेप्सेको पत्रः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।