काठमाडाैं- चालु आर्थिक वर्ष २०७६/०७७ पहिलो एक महिना अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापार र व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। साउन महिनामा नेपालले करिब १ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालले १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा व्यहारेको थियो।
भन्सार विभागको तथ्याङ्कअनुसार गत साउन मसान्तसम्ममा नेपालले १ खर्ब १५ अर्ब ५६ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। जसमध्ये १ खर्ब ६ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ बराबरको आयात रहेको छ भने ८ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको निर्यात नेपालले गरेको छ।
यसरी आयात र निर्यातको अनुपात हेर्दा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालले ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको देखिन्छ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चालु आर्थिक वर्षमा आयात र व्यापार घाटा घटेको छ भने निर्यात बढेको छ। गत आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष आयात ११ दशमलव ५१ अंकले, व्यापार घाटा १३ दशमलब ९० प्रतिशतले र कूल वैदेशिक व्यापार ९ दशमलब ३९ प्रतिशतले घटेको छ।
तर, गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा निर्यात भने बढेको विभागको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको पहिलो महिना ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बराबरको निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात २७ दशमलब ६८ प्रतिशतले बढेर ८ अर्ब ८३ करोड ७० लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा नेपालले गरेको कूल निर्यातको झण्डै दोब्बर बराबरको इन्धन आयात गरेको देखिन्छ। साउन महिनामा १६ अर्ब २० करोड ८२ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।