काठमाडौं- विद्युतीय बस सञ्चालनका लागि नीतिगत अस्पष्टताका कारण काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन कार्य अड्किएको छ। सरकारको नीतिगत अस्पष्टताकै कारण विद्युतीय बस सञ्चालनको मिति सार्दै जानु परेको सुन्दर यातायात प्रालिले गुनासो गरेको छ।
सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा सञ्चालन गर्ने गरी विद्युतीय बस ल्याइसकेको छ। यातायातले ७० जनासम्म यात्रु बोक्ने चिनियाँ कम्पनी बिएके ब्याट्री इन्क कम्पनीले निर्माण गरेका बसमा ल्याएको हो। उक्त बसमा ४० सिट संख्या रहेको छ।
विद्युतीय बस संचालनका लागि आवश्यक विद्युत नीति नल्याउँदा बसको भाडा निर्धारण, चार्जिङ स्टेसनले तिर्ने विद्युतको महसुललगायत विषय टुंगो लाग्न सकेको छैन। सरकारले वातावारणमैत्री सवारीलाई उच्च प्राथमिकता दिने नीति लिएसँगै आफूहरूले चीनबाट विद्युतीय बस ल्याएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए। ‘सरकारी नीतिपछि उत्साहित भएर राजधानीमा विद्युतीय बस चलाउने योजनासहित बस ल्यायौं,’ थापाले नेपाल लाइभसँग भने, ‘तर बस आएको महिनौं बित्दा पनि सरकारले नीतिगत सहजीकरण गरिदिएको छैन।’
सुन्दर यातायात आफैंले चार्जिङ स्टेसनको व्यवस्था गरेको भएपनि विद्युतीय सवारी साधनको भाडादर निर्धारण नहुँदा बस सञ्चालन रोकिएको अध्यक्ष थापाको भनाइ छ। ‘बस चार्ज गर्दा लाग्ने विद्युतको शुल्क कम्पनी ऐनअनुसार नै गर्ने विषयमा हामीले छलफल गरिरहेकाले एक दुई दिनमै निर्णय गर्छौं होला,’ उनले भने, ‘तर विद्युतीय सवारीको भाडा निर्धारण नहुँदा कतिमा यात्रु बोक्ने भन्ने निर्क्यौल हुन सकेको छैन।’ सरकारले डिजेल/पेट्रोलबाट चल्ने सवारीसरह भाडा लिन भने पनि त्यसो गर्दा उपभोक्तालाई कुनै फाइदा नहुने उनको भनाइ छ।
सरकारले विद्युतीय बस सञ्चालन गर्ने नयाँ नीति नल्याएपनि आफूहरुले पुरानै प्रक्रियाबाट भए पनि बस संचालन गर्ने तयारी गरेको अध्यक्ष थापाले बताए। आगामी भदौ २३ गतेदेखि उपत्यकामा विद्युतीय बस संचालनमा ल्याउने तयारी गरिएको उनको भनाई छ।
सुन्दर यातायातले एउटा बसको मूल्य १ करोड ६२ लाख रुपैयाँ खर्चेर ल्याएको हो। उक्त बसमा कम्पनीले ७ वर्षको वारेन्टी दिएको छ। गाडीको अगाडी र बीच भागमा २ वटा ढोका राखिएका छन्। दुवै ढोका ड्राइभरको कन्ट्रोलमा खोल्न तथा बन्द गर्न सकिन्छ। यात्रुको सुरक्षाका लागि बसमा ७ वटा सिसी क्यामेरा जडान गरिएको छ।
विद्युतीय बसको ब्याट्री चार्जका लागि काठमाडौंका ३ स्थानमा चार्जिङ स्टेसन राखिने सुन्दर यातायातले जनाएको छ। तत्कालका सितापाइला र सुकेधारामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइने भएको छ। ‘सरकारले स्वीकृति नदिएसम्म हामी चार्जिङ स्टेसन सञ्चालनमा ल्याउन सक्दैनौं,’ अध्यक्ष थापाले भने, ‘यी दुई स्टेसन सञ्चालनमा ल्याउने निर्देशन नपाएसम्म भत्केको पुलस्थित सुन्दर यातायात प्रालिको ग्यारेजबाटै चार्ज गरेर बस सञ्चालन गर्ने हाम्रो तयारी छ।’
चार्जिङ स्टेसनमा ३०, ६० र १२० केभिए क्षमताका चार्जिङ मेसिन राखिन्छ। एक पटकमा ४ वटा विद्युतीय बस चार्ज गर्न सकिने व्यवस्था गरिएको छ। एक पटक फूल चार्ज गरेपछि बस २ सय ५० किलोमिटरभन्दा बढी गुडाउन सकिन्छ।
यातायातले रिङरोडलगायत अन्य केही रुटमा बस सञ्चालन गर्ने योजना बनाएको छ। सुन्दर यातायातका विद्युतीय बसमा भाडा तिर्न कार्डको व्यवस्था समेत गर्ने भएको छ।
सरकारले पनि साझा यातायातमार्फत् ३ सय वटा विद्युतीय बस सञ्चालन गर्ने भन्दै साझालाई असार २९ गते ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ। साझाले विद्युतीय बस नल्याउँदासम्म विद्युतीय बससम्बन्धी नीति अड्किने हो कि भन्ने आशंका व्यक्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।