राजविराज- राष्ट्रियसभा सदस्यमा प्रदेश–२ बाट निर्विरोध निर्वाचित भएपछि एमालेका नेता सुमनराज प्याकुरेल गत माघ १६ गते सप्तकोसी नगरपालिकामा आयोजित स्वागत तथा बधाई कार्यक्रममा सहभागी भए। प्याकुरेललाई बधाई दिँदै कोसी टप्पु वन्यजन्तु आरक्ष र चुरे क्षेत्रबाट निस्कने जंगली जनावरको आक्रमणबाट नागरिकको जीवनरक्षा गर्न र पीडितहरुलाई क्षतिपूर्ति दिलाउन पहलका लागि स्थानीयले माग गरे।
‘म पदमा छैन, केही गर्न सकिनँ भनेर अब चैं टकटकिन पाइन्न,’ स्थानीय जाहिर सुसैनले भने, ‘नागरिकलाई सर्वोपरी ठानेर काम गर्नुहोला।’
हात्ती, अर्ना, भालु लगायतका जंगली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले त्यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन प्याकुरेललाई सुझाए। नगरपालिकाका मेयर उत्तमकुमार गौतमले भने, ‘नागरिकले आफ्ना बालबच्चा र परिवार भन्न पाएका छैनन्, त्यसको निराकरणलाई पहिलो प्राथमिकतामा राख्नुहोला।’
कोसी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले पनि जंगली जनावरको पीडा स्थानीयवासीका लागि ‘पैतालाको खिल’ सरह भएको भन्दै समयमै यसको समाधान खोज्न आग्रह गरे। ‘आरक्षले दिने क्षतिपूर्ति पनि सन्तोषजनक छैन,’ उनले भने, ‘जनता विस्थापित हुने अवस्थालाई रोक्न समयमै विकल्प खोज्नु राम्रो हो।’

स्थानीयको सुझावलाई प्याकुरेलले सम्बधन गर्न नपाउँदै त्यही बेला वडा नं ६ का जीवनाथ आचार्यलाई भालुले चिथोर्यो। जंगलमा घाँस काट्न जाँदा भालुको आक्रमणमा परेका आचार्य गम्भीर घाइते भए। उनलाई उपचारका लागि तत्कालै विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याइयो। उनको अनुहार क्षतविक्षत भएको छ भने देब्रे आँखा भालुले निकालेको स्थानीय गीता पौडेलले बताइन्।
अस्पताल स्रोतलाई उल्लेख गर्दै पौडेलले दिएको जानकारी अनुसार आचार्यले खर्च अभावका उनले स्तरीय सेवा पाएका छैनन्। यसको ठिक २० दिन अघि (पुस २६ गते) आरक्षबाट निस्केको अर्नाले सप्तकोसी नगरपालिका–५ सदा बस्तीका ५० वर्षीय झपड सदालाई घाइते बनायो। बाख्रालाई घाँस काट्न गएका बेला बाँसघारीमा बसेको अर्नाले सदालाई आक्रमण गरेको थियो। खुट्टाको विभिन्न भाग तथा पेटमा गम्भीर चोट लागेकाले उनलाई अस्पताल भर्ना गरियो। उनको पनि उपचार भइरहेको छ।
एक वर्षअघि मात्र सप्तकोसी नगरपालिका ५ कै (साबिक फत्तेपुर–९ गंगाजली) ५५ वर्षीया नरमाया राउतलाई भालुले आक्रमण गरी घाइते बनायो। घाँस काट्न जंगल गएकी राउतलाई गाउँबाट करिब एक किलोमिटरको दुरीमा भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि अवस्था सामान्य भएको छ।

पौडेलका अनुसार विगत एक वर्षको अवधिमा स्थानीय सुवाराम चौधरी, गोपाल राउत, प्रेम खत्री लगायत आधा दर्जनभन्दा बढीलाई जंगली जनावरले घाइते बनाएको छ।
‘जंगली जनावरको आक्रमणमा परी कतिपयको तत्कालै मृत्यु हुने गरेको छ भने कतिपयको तत्काल उपचार भएपनि घाउमा इन्फेक्सन भएर केही समयपछि पनि मृत्यु हुने गरेको छ,’ उनले भनिन्।
यति मात्रै होइन, सप्तरीमा हात्ती, अर्ना लगायतका जंगली जनावरको आक्रमणबाट बर्सेनि सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन्। हालसम्म कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, वैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादव लगायतले हात्ती र अर्नाको आक्रमणबाट ज्यान गुमाइसकेका छन्।

जंगली जनावरले हैरान पारेपछि कञ्चनरुप नगरपालिकावासीले सरकारलाई दबाब दिन केही दिनअघि आन्दोलनको तयारी समेत गरे। तर सिडिओ भागीरथ पाण्डेयले आन्दोलन छोडेर अर्को विकल्प रोज्न आग्रह गरेपछि उनीहरुको आन्दोलन स्थगित भएको छ।
पाण्डेलाई नगरपालिकाका मेयर वसन्त मिश्रले आरक्षबाट निस्कने जंगली पशुको आक्रमणमा परी यस वर्ष मात्रै ३ जना किसानले ज्यान गुमाएको स्मरण गराउँदै यसको दीर्घकालीन समाधान नखोजे जनताको जीवनरक्षाका लागि आफनै नेतृत्वमा आन्दोलन सुरु गर्ने चेतावनी पनि दिएका छन्।

आरक्ष तथा चुरे जंगलबाट निस्कने हात्ती, अर्ना, बँदेल लगायतका वन्यजन्तुबाट जिल्लाको पूर्वी भेगस्थित भारदह, कञ्चनपुर, पोर्ताहा, बरमझिया, वैरवा, जोगिनिया, हनुमाननगर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, रुपनगर ठेलिया, जगतपुर, महुली लगायत ठाउँका जनता पीडित हुँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।