धुलिखेल- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीलाई कठोर बनेर काम लगाउनुपर्ने बताएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले केही कर्मचारीले काम गर्ने सवालमा सानो काममा पनि धेरै झमेला गर्ने गरेको उल्लेख गरे।
'केही कर्मचारीले अझै पनि राजा-महाराजाबाट भएको निर्देशनात्मक अभियान अनुरुप काम गर्ने गरेको पाएको छुु', दाहालले भने, 'त्यसैले भएको ऐन नियम र कानुनलाई परिमार्जन गरी संस्कारलाई नै परिमार्जन गरेर अगाडि बढ्नुको विकल्प छैन।'
उनले अब ऐन नियम र निर्देशिकामा आवश्यक संशोधन र परिमार्जन गरेर अघि बढेमा मात्र उद्योगको विकास हुने बताए।
अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रको एकतामा कुनै शंका नगर्न आग्रह गरे। उहाँले लोकतान्त्रिक पद्धतिलाई सुहाउने तर कठोर ऐन बनाएर वामपन्थी सरकारले छाडातन्त्रको अन्त्य गर्ने ठोकुवा समेत गरे।
दाहालले आफू पनि कृषि अध्ययन गरेको विद्यार्थी भएकाले कृषिको क्रान्तिबिना नेपालको मुहार फेर्न नसकिने भएकाले अब कृषिमा उच्च प्रविधि र आकर्षणको विकास हुने कार्यक्रम वामपन्थी सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।