काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजनामा मंगलबारदेखि 'नाडा अटो शो २०१९' जारी छ। अटो शो आइतबारसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा चल्नेछ। सवारी बिक्रेता कम्पनीहरुले नयाँ-नयाँ सवारी बिक्री तथा प्रदर्शनीका लागि राख्नेछन्।
नाडा अटो शोमा विद्युतीय गाडी मुख्य आकर्षणको रुपमा रहेका छन्। सरकारले विद्युतीय सवारीमा अन्य सवारीको तुलनामा ज्यादै न्यून कर लगाउँदै आएको छ। यसले नेपाली बजारमा अन्य सवारीको तुलनामा विद्युतीय सवारीको मूल्य सस्तो हुने देखिएको छ। नेपाली बजारमा सवारी बिक्री गर्दै आएका विभिन्न कम्पनीहरुले इलेक्ट्रिक सवारी ल्याएका छन् भने कतिपयले ल्याउने तयारीसमेत गरेका छन्।
अटो शोको १४औं संस्करणमा विभिन्न कम्पनीका विभिन्न मोडलका इलेक्ट्रिक कार उपलब्ध छन्। तिनैमध्ये अटो शोमा राखिएका इलेक्ट्रिक कारको बारेमा यहाँ उल्लेख गरिएको छ। नाडा अटो शोमा इलेक्ट्रिक कार किन्न चाहनेहरुका लागि यी कार उपयुक्त हुन सक्छन्।
किया निरो
दक्षिण कोरियाली कार उत्पादक कम्पनी 'किया'ले उत्पादन गरेको 'निरो' इलेक्ट्रिक कार नेपाल भित्र्याइएको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले यस कारलाई भित्र्याएको हो। यो इलेक्ट्रिक कार अटो शोमा मुख्य आकर्षणको रुपमा छ।
किया निरोले एक पटकको फुल चार्जमा ४ सय ८० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ। यो कारको सुरुवाति मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकिएको छ। अटो शोको अघिल्लो संस्करणमा कियाको सोल इभी राखिएको थियो।
हुन्डाई कोना
हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले पहिलोपटक 'कोना' इलेक्ट्रिक कारलाई नाडा अटो शोमा राखेको छ। कम्पनीले केही महिनाअघि ल्याएको कोनाले एकपटकको फुल चार्जमा ३५० किलोमिटर माइलेज दिन्छ।
यसको नेपाली बजारमा मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो अटो शोमा हुन्डाईको आयोनिक इलेक्ट्रिक कार राखिएको थियो।
बिवाइडी ई–६
चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक कम्पनी बिवाइडीले नेपाली बजारमा 'ई–६' कार उपलब्ध गराएको छ। ई–६ ले एकपटकको फुल चार्जमा करिब ३ सय किलोमिटर माइलेज दिन्छ। यो कारमा ७५ केडब्लूको मोटर रहेको छ भने बिवाइडीले बनाएको एफई ब्याट्री रहेको छ।
विभिन्न दुई अप्सनमा यो कार उपलब्ध रहेको छ। ३ सय किलोमिटर माइलेज दिने ई–६ को मूल्य ५० देखि ५५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
प्युजो पार्टनर टिपी
प्युजोको 'पार्टनर टिपी' इलेक्ट्रिक कारसमेत नाडा अटो शोमा उपलब्ध छ। पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रिक कारको माग बढ्दै गएसँगै प्युजोको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले प्युपो पार्टनर टिपी इलेक्ट्रिक कार भित्र्याएको हो।
प्युजो पार्टनर टिपीले फुल चार्जमा १ सय ७० किलोमटिर माइलेज दिने कम्पनीले जनाएको छ।
दाय इलेक्ट्रिक
चिनियाँ इलेक्ट्रिक कार 'दाय' नेपाली बजारमा दिगो ग्रुपले ल्याएको हो।
दाय ब्रान्डका इभी दुई ब्याट्री अप्सनको साथ उपलब्ध रहेको छ। लिड एसिड ब्याट्री र लिथियम आयन ब्याट्रीका साथ आएको यो कारले १ सयदेखि १ सय ५० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ।
दायका इलेक्ट्रिक कार फुल चार्ज हुन ४ देखि १० घन्टासम्म लाग्नेछ। दिगो दायका इलेक्ट्रिक कार दुई मोडलमा अटो शोमा उपलब्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।