काठमाडौं- आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।
यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारीसाधन हटाउन लागेको हो। विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो।
विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहेका भक्तपुरका रामबहादुर थापाले जानकारी दिए।
विभागका महानिर्देशक रुपनारायण भट्टराई २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्छन्।
नियमावली संशोधन गरेर २०७४ फागुन मसान्तसम्म देशभर २० वर्ष पुराना सवारीसाधन हटाउने निर्णय भएको भन्दै भट्टराईले थपे, 'उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्छ। नहटाए कानुनी व्यवस्थाअनुसार सवारी साधन नियन्त्रणमा लिइनेछ।'
विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारीसाधन भने गुड्न दिइने जनाइएको छ। हाल देशभर २० वर्ष पुराना पाँच हजार ५ सय सवारी साधन सञ्चालनमा छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।