काठमाडौं- राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबराले देशको राष्ट्रिय अखण्डताको प्रवर्द्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताएका छन्।
पार्टीको ३ नम्बर प्रदेशस्तरीय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै राणाले देश र जनताको पक्षमा संसदमा आवाज उठाउने वातावरण नभएकाले पार्टीले सडकबाटै अधिकारका पक्षमा काम गर्ने बताए।
अध्यक्ष राणाले चुनावमा प्राविधिक कारणले पार्टीका नेताले पराजय भोगे पनि जनताको मनबाट पार्टी पराजय नभएको उल्लेख गरे। राणाले पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुपाल्चोक २ बाट पराजय बेहोरेका थिए।
राणाले देशको नयाँ संरचना अनुसार स्थानीय तह, प्रदेश र केन्द्रसम्म संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए।
पार्टीका वरिष्ठ नेता हरिबहादुर बस्नेतले विभिन्न समयमा संगठनभित्र आउने कठिनाइलाई समाधान गर्न आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिए।
उक्त सम्मेलनमा प्रदेश ३ का १३ जिल्ला, ३३ निर्वाचन क्षेत्र र ५२ गाउँपालिकाका प्रतिनिधि सहभागी छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।