काठमाडौं- उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा आयोजना गरेको दिवाभोज बहिष्कार गरेका छन्।
यसअघि हरेक भारतीय नेताको नेपाल भ्रमणमा स्थान पाउने प्रिय पार्टी र नेताको रुपमा लिइने राप्रपाका अध्यक्ष थापासँग यसपाली स्वराजले पनि विशेष चासोपूर्वक भेट्ने अनुमान थियो। तर, स्वराजले भेट्ने कुनै कार्यसूची नभएको थाहा पाएपछि थापाले भ्रमणको दोस्रो तथा अन्तिम दिन प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा राखेको दिवाभोज समेत बहिस्कार गरेका छन्।
यसअघि परराष्ट्रमन्त्री समेत रहेका थापा हाल उपप्रधान तथा ऊर्जामन्त्रीको जिम्मेवारीमा छन्। निर्वाचन सम्पन्न भएर नयाँ सरकार निर्माणको समयमा विदेशमन्त्री स्वराजको भ्रमण कूटनीतिक दृष्टिले अस्वाभाविक रहेको भन्दै थापाले बहिष्कार गरेका बुझिएको छ।
बालुवाटारमा दिइएको दिवाभोजमा उपप्रधानमन्त्री थापालाई पनि निम्त्तो दिइएको थियो। तर, त्यसलाई टार्न उनी पूर्वनिर्धारित जिल्ला भ्रमणको कार्यक्रम भन्दै बिहान हेटौंडा गएका छन्।
थापाले बिहीबार अपराह्न सामाजिक सञ्जाल ट्विटरमा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान जिल्ला भ्रमणमा जान लागेको लेखेका थिए।

‘स्वराजको भ्रमण अनौपचारिक भए पनि सरकार र शीर्ष नेताहरुले जसरी त्यसलाई महत्व दिए, त्यसप्रति असन्तुष्ट हुन सकिँदैन', राप्रपाका एक नेताले भने, ‘अध्यक्षको हेटौंडा जाने कार्यक्रम यसअघि नै तय भएकाले बालुटार जाने समय नमिलेको हो।’
प्रधानमन्त्री निवास बालुटावारमा स्वराजको सम्मानमा दिइएको दिवाभोज अन्य वरिष्ठ मन्त्रीहरु भने सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।