काठमाडौं- निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ हजार मतपत्र छपाइ गरेको छ। चार प्रकारका १२ हजार प्रति मतपत्र छापिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।
आयोगले केही दिनपहिले निर्वाचनका लागि चार प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको थियो।
५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचित गर्नुपर्ने हुन्छ। २४ जना उम्मेदवार राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएपछि अब ३२ जना सदस्यहरुले मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्ने आयोगले जनाएको छ।
राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता ढकालले बताए। उनका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामाग्री २१ गतेभित्र आयोगले निर्वाचन केन्द्रमा पु्याउनेछ।
मतदाताहरुलाई मतसंकेत सिकाउने, मतदान केन्द्रको व्यवस्था र सुरक्षा व्यवस्था लगायतका विषयमा आयोगले काम गरिरहेको उनले बताए।
एक निर्वाचन केन्द्रमा १० जना कर्मचारी खटाइनेछ भने एक निर्वाचन क्षेत्रमा दुई निर्वाचन केन्द्र रहनेछन्। प्रत्येक प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाममा निर्वाचन केन्द्र रहनेछन्।
राष्ट्रियसभा निर्वाचनको मत गणनाको लागि आयोगले ५/५ जनाको टिम खटाएको छ। मतगणनामा सघाउन अरु कर्मचारी पनि पठाउन सक्ने आयोगले जनाएको छ। आयोगले ३ दिनभित्र मतगणना सार्वजनीक गरी सक्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।