काठमाडौं- मध्यम वर्गीयको आयस्तरमा वृद्धि भएसँगै उनीहरूको रोजाइमा कार पर्ने गरेको छ। यसरी मोटरसाइकलबाट कारमा सिफ्ट हुनेहरुले प्रायः इन्ट्रिलेवल कार चढ्ने गरेका छन्।
यसरी पहिलो पटक कार किन्नेहरूलाई एक प्रकारको दुविधा हुनु स्वभाविकै हो। मोटरसाइकलबाट कारमा सिफ्ट हुने अधिकांशले इन्ट्रिलेवलका कार खरिद गर्ने गरेका छन्। त्यसमा पनि सस्तो तथा माइलेज धेरै दिने कार सबैजसोको रोजाइमा पर्ने परेको पाइन्छ।
इन्ट्रिलेवल कार चलाउन हलुका हुने, कम इन्जिन क्षमताको र तुलनात्मक रुपमा सस्तो मूल्यमा पाइने कार हुनाले यस्ता कार मोटरसाइकल छाड्नेहरूको रोजाइमा पर्ने गरेको हो। नेपालमा भारतीयदेखि विश्वका चर्चित ब्राण्डका कारसम्म उपलब्ध रहेका छन्।
नेपाली बजारमा उपलब्ध अधिकांश इन्ट्रिलेवल कार भारतमा उत्पादित आउने गरेका छन्। त्यसमा पनि तेस्रो देशका ब्रान्डको कार पनि प्रायः भारतमै उत्पादित कार नेपाली बजारमा आउने गरेका छ। भारतमा उत्पादित कार तेस्रो मुलुकबाट आयात गरिएभन्दा तुलनात्मक रुपमा सस्तो हुने गरेको छ।
नाडा अटो शो २०१९ मा नयाँ कार किन्न चाहनेहरुका लागि यहाँ उपयुक्त विकल्पबारे उल्लेख गरिएको छ। नेपाली बजारमा उपलब्ध सबैजसो कम्पनीका इन्ट्रिलेवल कार छन्। त्यस मध्येपनि कम मूल्यका कारको बारेमा उल्लेख गरिएको छ।
फोर्ड फिगो
फोर्डको फिगो एम्बिएन्ट एमटी ह्याचब्याक २४ लाख ९९ हजारमा बिक्री भइरहेको छ। यस ह्याचब्याक कारमा ११ सय ९४ सीसीको इन्जिन रहेको छ।

यसमा उपलब्ध इन्जिनले ९५ एमपी पावरका साथै १२० एनएम टर्क जेनेरेट गर्छ। यो कार नेपाली बजारमा जिओ फोर्डले बिक्री गर्दै आएको छ। अटो शो तथा दसैंलाई लक्षित गरेर कम्पनीले विभिन्न अफर समेत ल्याएको छ।
हुन्डाई सेन्ट्रो
लक्ष्मी इन्टरकन्टिनेन्टलले भित्र्याएको हुन्डाई सेन्ट्रो इरा र म्याग्ना सस्तो मूल्यका कार हुन्। दुबै कारमा समान १ हजार ८६ सीसीको पेट्रोल इन्जिन रहेको छ।

सेन्ट्रो इराको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ भने, म्याग्नाको मूल्य २५ लाख ९६ हजार रुपैयाँ रहेको छ।
ड्याटसन रेडिगो
ड्याटसनले २५ लाख मूल्यसम्मका तीन कारको बिक्री गर्दै आएको छ।

७ सय ९९ सीसीको गो टी (०) को मूल्य १९ लाख ९९ हजार, ९ सय ९९ सीसीको गो टी (०) २१ लाख ९९ हजार र ११ सय ९८ सीसीको न्यु गोको मूल्य २५ लाख ९९ हजार रुपैयाँमा बिक्री हुर्दै आएको छ।
ड्याटसनका गाडी नेपाली बजारमा पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको छ। यो कार पनि नाडा अटो शोमा उपयुक्त विकल्प हुनसक्छ।
मारुती सुजुकी अल्टो
मारुतीले नेपाली बजारमा बिक्री गर्दै आएको अल्टो एसटीडी नेपाली बजारमा पाइने सबैभन्दा सस्तो कार हो।

हाल यो कारको मूल्य १८ लाख ९९ हजार रहेको छ भने, अल्टो एलएक्सआईको मूल्य २० लाख ९९ हजार र अल्टो के १० भिएक्सआईको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ। सुजुकीका कार सिजी मोटोकर्पले बिक्री गर्दै आएको छ।
टाटा टियागो
नेपालमा बिक्री हुँदै आएको टाटा टियागोको एक्सई भेरियन्ट सस्तो कारको सूचीमा पर्छ।

११ सय ९९ सीसी इन्जिन क्षमता इन्जिन रहेको यस कारको सुरुवाति मूल्य २१ लाख ५५ हजार रुपैयाँ रहेको छ। यसमा उपलब्ध इन्जिनले ८३.८३ बीएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ । टाटाका कार सीप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ।
रेनो क्विड
नेपाली बजारमा रेनोका कार एडभान्स अटोमोबाइलले बिक्री गर्दै आएको छ।

क्विडको सुरुवाती मूल्य २२ लाख २४ हजार ५३३ रुपैयाँ रहेको छ। त्यस्तै महंगो भेरियन्टको मूल्य २४ लाख ५८ हजार ५५६ रुपैयाँ रहेको छ। यसमा उपलब्ध ९ सय ९९ सीसीको इन्जिनले ६९ एचपी पावरका साथै ९६ एनएम टर्क उत्पादन गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।