काठमाडौं- सरकारले 'स्टार्ट अप' व्यवसायका लागि लगानीको ५० प्रतिशतसम्म अनुदान दिने भएको छ। अर्थ मन्त्रालयले तयार गरेको स्टार्ट अप सञ्चालनसम्बन्धि कार्यविधिमा युवाहरुलाई व्यवसाय सुरु गर्न ५० प्रतिशतसम्म अनुदान दिने प्रस्ताव गरिएको छ।
रोजगारी सिर्जना गर्ने, सूचना प्रविधिसँग सम्बन्धि, कृषि, सना तथा मझौला उद्योगलगायतका क्षेत्रमा सञ्चालन हुने व्यवसायसँग सम्बन्धित क्षेत्रमा सञ्चालन गर्ने त्यस्ता व्यवसायमा अनुदानको प्रस्ताव गरिएको हो। अर्थ मन्त्रालयले यो कार्यविधिलाई अन्तिम रुप दिएको छ।
उद्यमशीलता विकास गर्दै रोजगारी सिर्जना गर्ने क्षेत्रमा सञ्चालन हुने नवीन सोच भएका युवालाई लक्षित गरी स्टार्ट अपलाई अनुदान उपलब्ध गराउने तयारी गरिएको हो। सरकारले पछिल्लो केही वर्षयता बजेट यो कार्यक्रम समावेश गरेको भए पनि कार्यविधि नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन।
'हामीले कुनै खास व्यवसायलाई लक्षित गरेर यति रकम दिन्छौँ भनेका छैनौँ, कार्यविधिमा तोकिएका जुनसुकै व्यवसाय सञ्चालन गर्नेका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने गरी कार्यविधि तयार गरेका छौँ,' स्रोतले भन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।