काठमाडौं- स्थानीय सरकारले इँटा उद्योगमा कडाई गरेको भन्दै व्यवसायीहरूले विरोध गरेका छन्।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इँटा उद्योग महासंघले स्थानीय सरकारले इँटा उद्योगको दर्ता तथा नवीकरणमा झन्झटिलो प्रक्रिया लगाएको र कतिपय स्थानमा उद्योग नै भत्काएको भन्दै व्यवसायीले विरोध गरेका हुन्।
केही दिन अगाडी काभ्रेको नमोबुद्ध नगरपालिकाले इँटाभट्टामा डोजर लगाएर भत्काएपछि व्यवसाय धरापमा परेको भन्दै व्यवसायी आन्दोलित भएका हुन्।
पत्रकार सम्मेलनमा इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले इटा उद्योग महासंघले कानुनका आधारमा कर तिर्ने भएकाले व्यवसाय गर्ने हकको हनन हुने गरी अवरोध सृजना गरिएको बताए।
स्थानीय तहको सरकारले उद्योग प्रतिष्ठानको विकास प्रवर्द्धन र संरक्षण गर्नु पर्नेमा उल्टो डोजर लगाएर सम्पत्ति हानीनोक्सानी गरेको भन्दै महासंघले छानबिन गर्न माग गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गर्दै २०७५ जेठ १४ बाट इँटा उद्योगको नवीकरण स्थानीय तहको कार्यपालिकाको बैठकको सिफारिस गरेपछि मात्रै हुने व्यवस्था गरेको छ। स्थानीय तहले इँटा उद्योग लगायतको दर्ता नवीकरण समेतको अधिकार प्रयोग गर्न थालेपछि विवाद बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।