काठमाडौं– सरकारले नेपालमा काम गरिरहेका विदेशी श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भएको छ।
सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनामा विदेशी श्रमिकलाई पनि नेपाली नागरिकसरह सेवा सुविधा दिने व्यवस्था छ। विश्वका विभिन्न मुलुकबाट नेपालमा रहेका श्रमिकहरु नेपाली श्रमिकसरह नै कोषको दायरामा आबद्ध हुनुपर्ने र उनीहरुलाई नेपालीसरह नै सेवासुविधा प्राप्त हुने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली बताउँछन्।
‘हामीले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्ड अनुसार नै सामाजिक सुरक्षा योजनालाई अगाडि सारेका छौं,' कार्यकारी निर्देशक ज्ञवालीले भने, 'विदेशी श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनाले समान रुपमा समेटेको छ, नेपाली नागरिकसरह विदेशी नागरिकको समेत सुरक्षाको प्रत्याभूति गरिएको छ।’
२०७६ साउन १ गतेदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको सामाजिक सुरक्षा योजना अन्तर्गत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना , आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना गरी सुरुमा ४ वटा मुख्य योजनाहरु अघि सारिएका छन्।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना कोषमा योगदान सुरु गरेको ३ महिना भइसकेपछि मात्रै लागू हुने व्यवस्था छ। कोषबाट औषधि उपचार सेवा प्राप्त गर्न श्रमिकले ३ महिना कोषमा योगदान गरेको हुनुपर्ने कोषकी प्रवक्ता रमा भट्टराईले बताइन्।
कुनै पनि प्रतिष्ठानमा आबद्ध वा स्वरोजगार व्यक्तिले आफ्नो योगदान बापतको रकम कोषमा जम्मा गर्न थालेको ३ महिनापछि श्रमिक बिरामी भएमा औषधि उपचारका लागि उक्त श्रमिकले घरमै बसी उपचार गरेको अवस्थामा वार्षिक २५ हजार तथा अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा वार्षिक एक लाखमध्ये कुल दाबी रकमको ८० प्रतिशत कोषले बेर्होने र बाँकी २० प्रतिशत रोजगारदाता आफैले बेहोर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था विदेशी कामदारको हकमा पनि नेपाली कामदारसरह लागू हुने व्यवस्था छ।
मातृत्व सुरक्षा अन्तर्गत गर्भावस्थाको परीक्षण तथा ३ महिनासम्मको उपचार खर्चको सुविधा छ। २४ हप्ताभन्दा बढीको गर्भपतन तथा मृत शिशु जन्मिएको अवस्थामा समेत यो सुविधा पाउने व्यवस्था छ।
योगदानकर्ता वा निजको पत्नी प्रसूति भएको अवस्थामा शिशुलाई एक महिनाको पारिश्रमिक बराबर रकम प्रसूति स्याहारबापत प्रदान गरिनेछ।
दुर्घटना तथा अशक्तता योजना
श्रमिकहरु दुर्घटनामा परेमा उनीहरुले कोषमा योगदान गरेकै दिनदेखि यो सुविधा प्राप्त गर्न सक्छन्। व्यवसायजन्य रोगको हकमा भने कोषमा योगदान सुरु गरेको दुई वर्षपछि मात्रै सुविधा प्राप्त हुने प्रावधान छ। कुनै पनि प्रतिष्ठानमा काम गरेर छाडेपछि पनि दुई वर्षभित्रमा व्यवसायजन्य रोगले आक्रमण गरेमा श्रमिकले कोषबाट उपचार खर्च पाउने व्यवस्था छ। यस्तो अवस्थामा कोषले ७ लाखसम्म उपचार खर्च बेहोर्छ।
कार्यास्थल दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षम भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रुपमा निज काममा नफर्कंदासम्म पाउनेछ। तर पूर्ण असक्षमता भएमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत निज जीवित हुँदासम्म कोषले प्रदान गर्ने व्यवस्था छ।
विदेशी श्रमिकका हकमा समेत यो व्यवस्था नेपाली कामदारसरह लागू हुने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए।
आधारभूत पारिश्रमिकको ६० प्रतिशत
योगदानकर्ताको मृत्यु भएमा निजको परिवारलाई यो सुविधा आजीवन प्रदान गरिन्छ। जुनसुकै कारणले योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निजले खाइपाइ आएको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम निज जीवित रहेसम्म निवृत्तीभरण पाउने व्यवस्था छ।
मृतक योगदानकर्ताको सन्तति २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा शैक्षिक सहायता पाउने व्यवस्था छ।
एकभन्दा बढी सन्तान भएमा ६० प्रतिशत रकम दामासाहीले प्रदान गरिनेछ।
‘विदेशी कामदारको हकमा समेत यो व्यवस्था लागू हुन्छ, जुन देशको नागरिक हो सोही देशको रकममा कोषबाट प्राप्त हुने सेवासुविधा उपलब्ध गराइन्छ,’ कोषका कार्यकारी निर्देशक ज्ञवालीले भने।
विदेशी श्रमिकले निवृत्तीभरण पाउँछन्?
सामाजिक सुरक्षा योजना अन्तर्गत श्रमिकले सामाजिक सुरक्षा योजना कोषमा योगदान गरेको श्रमिक उमेरले ६० वर्ष पूरा भएपछि बाँचुन्जेल निवृत्तीभरण पाउने व्यवस्था छ।
निवृत्तीभरण पाउन श्रमिकले कोषमा १५ वर्ष योगदान गरेको हुनुपर्छ। योगदान गरेको १५ वर्ष नपुगी श्रमिकको उमेर ६० वर्ष पूरा भएको अवस्थामा निजलाई वृद्धावस्था सुरक्षा योजनाबापत जम्मा भएको रकम र प्रतिफलसमेत एकमुस्ट प्राप्त गर्न सकिने व्यवस्था छ।
निवृत्तीभरण योजना अन्तर्गत योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १ सय ८० महिना ( १५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तीभरण पाउने व्यवस्था छ।
सामाजिक सुरक्षा योजनामा आबद्ध भएका विदेशी कामदारको हकमा भने उनीहरु निश्चित अवधिको श्रम स्विकृति लिएर काम गर्ने हुँदा उनीहरु करार अवधि सकेर उनीहरु आफ्नै देश फर्कन्छन्। करार अवधि सकेर फर्किएका विदेशी कामदारहरुले कोषमा वृद्धावस्था सुरक्षा योजनाबापत कोषमा जम्मा भएको योगदान र सोको लगानी प्रतिफल फिर्ता पाउने व्यवस्था छ।
‘उनीहरु जुन देशका नागरिक हुन्, सोही देशको रकममा कोषले योगदान बापतको रकम र प्रतिफल प्रदान गर्दछ,’ कोषका कार्यकारी निर्देशक ज्ञवालीले भने।
कोषमा योगदान गरिरहेको नेपाली श्रमिकले समेत बीचैमा नेपाली नागरिकता त्यागी विदेशको नागरिकता लिएमा सो श्रमिकलाई योगदान बापतको रकम र प्रतिफलसमेत एकमुष्ट रुपमा कोषबाट प्रदान गरिने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।