काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बोलाएको राजनीतिक समितिको बैठक विवादमा परेको छ।
यादवले आगामी भदौ १३ र १४ गतेका लागि बैठक बोलाएका छन्। तर उनको आह्वान पार्टीको प्रचलित व्यवस्था विपरित भएको भन्दै अन्य सदस्यले विरोध जनाएका छन्। उनीहरुले संयोजकको मनशाय ठीक नदेखिएको, उनी गुटबन्दीतिर लागेको आरोप लगाए।
'यो बैठक बस्नै सक्दैन। सम्भव नै छैन', अध्यक्ष मण्डलका एक सदस्यले भने, 'संयोजक नै गुटबन्दीतिर लाग्नुभयो। यो पार्टीको लागि हितकर हुँदैन। राम्रो हुँदैन। संयोजकको भूमिका समन्वयकारी हुन्छ। उहाँले गुटबन्दीतर्फ अघि बढेपछि पार्टीमा ठूलो नोक्सानी हुन्छ।'
पार्टी महासचिव केशव झाले त संयोजकले तानाशाही प्रवृत्ति देखाएको बताए।
'संयोजकले १३ र १४ गते राजनीतिक समितिको बैठक बोलाउनुभएको छ। त्यसका निम्ति अध्यक्ष मण्डलका अन्य सदस्यहरुसँग राय सल्लाह लिने र सहमति लिने काम गर्नुभएन', उनले नेपाल लाइभसँग भने, 'बरु एकलौटी रुपमा तानाशाही प्रवत्ति देखाउँदै बैठक बोलाउनुभयो।'
संयोजक यादवले हुँदै नभएको अधिकार प्रयोग गरेको देख्दा आफू आश्चर्यचकित भएको झाले बताए। 'उहाँले कुनै बैठक राख्नु छ भने पहिले अध्यक्ष मण्डलमा सहमति गर्नुपर्छ। अनि मात्रै बैठक डाक्नुपर्छ', उनले भने।
राजपाको राजनीतिक समितिमा २७ सदस्य छन्।
गत साउनदेखि अध्यक्ष मण्डलको संयोजक भएका यादवले अहिलेसम्म अध्यक्ष मण्डलको बैठक समेत राख्न सकेका छैनन्।
यो पनि पढ्नुहोस्– राजपा संयोजक राजकिशोरले बोलाए मधेसी पत्रकार भेला, समाजवादीसँग एकताको कुरै नभएको दाबी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।