काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले शनिबार मधेसी पत्रकारको भेला गरेका छन्।
जडिबुटीको इन्द्रेणी फुडल्यान्डमा बिहान ११ बजेदेखि सुरु भएको भेला २ बजेसम्म चलेको थियो। मधेसी मूलका पत्रकारलाई मात्रै निम्तो रहेको सो भेलामा ३५/४० जना पत्रकार उपस्थित भएको एक सहभागीले नेपाल लाइभलाई बताए। ‘भोजभतेर सहितको भेला थियो’, ती पत्रकारले भने।
छलफलमा ‘राजपाको संयोजक भएर किन एउटा समूदायको पत्रकारलाई मात्रै बोलाएको’ भन्ने एक पत्रकारको प्रश्नमा उनले संवेदनशील विषय भएकाले गैरमधेसीलाई बोलाउँदा गोप्यतामा असर पर्ने जवाफ दिएका थिए।
उनले समाजवादी पार्टीसँगको एकताको सबै कुरा गलत भएको बताए। ‘अहिलेसम्म केही भएको छैन। कुनै लेभलमा कुनै कुरा भएको छैन। उपेन्द्र यादवले राजपालाई कमजोर बनाउने षडयन्त्र मात्रै हो’, यादवलाई उदृत गर्दै ती पत्रकारले सुनाए।
यादवको भेला र त्यहाँ उठेको विषयमा आफूले पनि सुनेको अध्यक्ष मण्डलका अर्का नेताले बताए। ‘तपाईंले भनेजस्तो कुरा मैले पनि सुनें’, ती नेताले भने, ‘त्यसो हो भने त्यसले दुईवटा गलत म्यासेज दिन्छ। पहिलो, एकीकरणको विषयमै गलत सन्देश दिइयो। दोस्रो, मधेसी पत्रकारमात्रै बोलाएपछि राजपा मधेसी पत्रकारसँग मात्रै साँठगाँठ राख्ने पार्टी भन्ने देखियो। यस्तो कामले पार्टीलाई नै कलंकित गर्छ।’
उनले भेलाप्रति नै असन्तुष्टि व्यक्त गरे। ‘यसले त संयोजकबाटै पार्टीमा गुटबन्दी गर्न थालेको सन्देश गयो नि’, उनले भने।
यादव संयोजक भएदेखि नै यस्ता काम भइरहेको उनले आरोप लगाए। राजपा यसै महिनाको पहिलो सातादेखि अध्यक्ष मण्डलको संयोजक भएका हुन्।
यादवले भने आज मधेसी पत्रकारको मात्रै भेला गरिएको र पछि पहाडी पत्रकारसँग पनि छलफल गर्ने बताए। समाजवादीसँगको एकताको विषयमा आफूले औपचारिक वार्ता नभएको मात्रै पत्रकारसमक्ष भनेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।