काठमाडौं- नेपाली बजारमा कारको बिक्री पछिल्लो समय बढ्दै गइरहेको छ।
कारको बजार बढेसँगै विभिन्न ब्रान्डको उपस्थिति पनि बाक्लिँदै भएको छ। भारतीय, चिनियाँदेखि युरोपेली तथा अमेरिकी ब्रान्डका समेत सवारीसाधन नेपाली बजारमा उपलब्ध छन्। मानिसको आयस्तरमा भएको वृद्धिसँगै सवारी खरिदकर्ताको संख्या बढेको हो। यसरी बढेको बजार लिन सवारी बिक्रेताहरू प्रतिस्पर्धामा उत्रिएको देखिने गरेका छन्।
विभिन्न ब्रान्डको उपस्थितिसँगै प्यासेन्जर कारको बजारमा प्रतिस्पर्धा बढेको छ। प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिति बलियो बनाउन सवारी आयातकर्ता कम्पनीले नयाँ नयाँ मोडलका सवारी ल्याउने गरेका छन्।
पछिल्लो ५ वर्षमा नेपाली बजारमा बिक्री भएका प्यासेन्जर कारको तथयांक यहाँ उल्लेख गरिएको छ।
सन् २०१५/१६ देखि २०१९/२० को जुलाईसम्मको तथ्यांक हेर्दा नेपालमा सबैभन्दा बढी मारुती सुजुकीले २३ हजार ८ सय ९० वटा कार बिक्री गरेको छ।
मारुती सुजुकीका कार नेपाली बजारमा चौधरी ग्रुप अन्तर्गतको सिजी मोटोकर्पले बिक्री गर्दै आएको छ।
मारुतीलाई पछ्याएको हुन्डाईले पछिल्लो ५ वर्षमा १५ हजार ४ सय २७ वटा कार बिक्री गरेको छ।
कोरियाली कार निर्माता कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले यसका उत्पादन बिक्री गर्दै आएको छ।
त्यस्तै महिन्द्राले ५ वर्षमा ११ हजार ७ सय ६३ वटा कार बिक्री गरेको तथ्यांक छ। महिन्द्राका गाडी अग्नि इन्कर्पोरेटेडले बिक्री गर्दै आएको छ।
सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टाटाका प्यासेन्जर कार ५ वर्षमा ७ हजार ९ सय २४ वटा बिक्री हुँदा जिओ फोर्डले फोर्डका ४ हजार ८ सय ४१ वटा कार बिक्री गरेको तथ्यांक छ।
पायोनियर मोटर्सले बिक्री गर्दै आएको निसानका ३ हजार ९ सय ७६ वटा कार बिक्री हुँदा एडभान्स अटोमोबाइलले बिक्री गरिरहेको रेनोका २ हजार १ सय ५८ वटा कार बिकेको छन्। त्यस्तै युनाइटेड सिन्डिकेटले बिक्री गर्दै आएको टोयोटाका कार ५ वर्षमा २ हजार ७ वटा बिक्री भएको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।