काठमाडौं- सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागू गर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पूर्वाधार बिना नै विदेशीको देखासिकी गरी सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गरेका हुन्।
उनले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले अंगिकार गरेको प्रणाली लागू गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पूर्वआँकलन गर्न नसकिएको तर्क गरे। फोहरमैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्थाप्रति पनि उनले असन्तुष्टि जनाए।
उनले भने, 'अर्थतन्त्र समृद्ध हुनुपर्यो, आर्थिक अवस्था राम्रो हुनुपर्यो। सिंगो व्यवसाय फस्टाउँदै जानुपर्यो। आर्थिक गतिविधि तीब्र ढंगले सञ्चालन हुदै जानुपर्यो। आर्थिक गतिविधि सुक्दै जाने, पुँजी पलायन हुँदै जाने, रोजगारीका समस्या विकराल बन्दै जाने। यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठिक हुन्छ भनेर विचार नपुर्याइकन कुनै पनि कदम चाल्नु हुँदैन।'
उनले मुलुकको पूर्वाधार र अर्थतन्त्रको मूल्यांकन नै नगरी यूरोपेली देशका प्रणालीलाई रातारात लागू गर्न खोज्नु गलत भएको टिप्पणी गरे।
राजधानीमै आइतबार भएका दुई भिन्नाभिन्नै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित समाजिक सुरक्षा योजना लागू गर्न मजदुरका नेताहरुकै संस्थाहरुले असहयोग गरेको बताएका थिए।
फरक प्रसंगमा नेता नेपालले समाज सुधारको नाममा चाडपर्व मनाउन नपाउने गरी सरकारले नियन्त्रण गर्न नमिल्ने तर्क गरे।
विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले तीजसम्बन्धी कार्यक्रम पार्टी प्यालेसमा गर्न नपाउने भन्दै पत्राचार गरेकोतर्फ लक्षित गर्दै उनले विभिन्न जातजातिको धर्म र संस्कृतिलाई नियन्त्रण गर्न खोज्नु गलत हुने धारणा राखेका हुन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।