काठमाडौं- सवारीसाधनको बजार प्रतिस्पर्धी बन्दै गएसँगै उत्पादक माउ कम्पनीले नेपालमा उपस्थिति बलियो बनाउँदै लगेका छन्। आधिकारिक बिक्रेतामार्फत् सवारी बिक्री गर्दै आएका कम्पनीले नेपालमा आफ्ना प्रतिनिधि मात्र होइन, सम्पर्क कार्यालय नै खोल्न थालेका छन्।
नेपाली बजारमा आउने सवारीमध्ये करिब ९० प्रतिशत सवारी भारतमा उत्पादन हुने गरेका छन्। प्यासेन्जर सवारीदेखि कमर्सियल र मोटरसाइकलसम्मका आधिकारिक बिक्रेतामार्फत् बिक्री हुँदै आएको छन्।
उत्पादक कम्पनीले विगतमा केही मेकानिक्स मात्र नेपालमा पठाउने गरेका थिए। तर पछिल्लो समय मेकानिक्सका साथै सेल्स तथा मार्केटिक हेर्ने गरी माउ कम्पनीका प्रतिनिधि व्यवस्थापनमा रहने गरी आउन थालेका छन्।
टाटा मोटर्सले विगतदेखि नै नेपालमा सेल्स तथा मार्केटिङ हेर्ने गरी सिप्रदी ट्रेडिङको व्यवस्थापनमा प्रतिनिधि खटाउँदै आएको छ। सवारीसाधनको बजार प्रतिस्पर्धी बन्दै गएकाले माउ कम्पनीले आफ्नो बजार मजबुत बनाइराख्न प्रतिनिधि राख्ने गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए।
‘माउ कम्पनीले राम्रो बजार भएको ठाउँमा आफ्नो प्रतिनिधि राख्नु आधिकारिक बिक्रेता तथा उपभोक्ता दुबैलाई फाइदाको विषय हो,’ उनले भने, ‘अहिले अटोमोबाइल बजार प्रतिस्पर्धी बन्दै गएकाले सबैजसो माउ कम्पनीले नेपालमा आफ्नो प्रतिनिधि राख्न थालेका छन्।’ कतिपय कम्पनी समय-समयमा निरीक्षणमा आउने गरेका र कतिपयले भने प्रतिनिधि राखेको उनको भनाइ छ।
भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्रा र अशोक लेल्यान्डले हाल नेपालमा वैधानिक रुपमा सम्पर्क कार्यालय नै खोलेर बसेका छन्। ती कम्पनीले सवारी बजारको विश्लेषणदेखि मूल्य निर्धारणमा समेत भूमिका खेल्ने गरेको व्यवसायीहरुले बताएका छन्।
अशोक लेल्यान्ड इन्डियाले नेपालमा ७ जना प्रतिनिधि राखेको छ। अशोक लेल्यान्डका गाडी आइएमइ मोटर्सले बिक्री गर्दै आएको छ। त्यस्तै महिन्द्रा एन्ड महिन्द्राले पनि ७ जना नै कर्मचारी नेपाल हेर्ने गरी पठाएको छ। नेपालमा महिन्द्राका सवारी अग्नी इन्कर्पोरेटेड र दुगर्ड ब्रदर्स एन्ड सन्सले बिक्री गर्दै आएका छन्।
टाटा मोटर्सका सवारीसाधन सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ भने टाटाले नेपालमा ५ जना प्रतिनिधि पठाएको छ। जेसिबी इन्डियाले ४ जना प्रतिनिधि नेपालमा पठाएको छ। नेपालमा जेसिबी कन्ट्रक्सन इक्युपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्स रहेको छ।
नेपालमा बतास अर्गनाइजेसनले बिक्री गर्ने आइसरका सवारीको बजार हेर्न आइसर इन्डियाले ३ जना प्रतिनिधि राखेको छ।
टिभिएसका मोटरसाइकल जगदम्बा मोटर्सले बिक्री गर्दै आएको छ भने उक्त कम्पनीमा टिभिएस इन्डियाका २ जना प्रतिनिधि नेपालमा खटिएका छन्। यमाहा मोटरसाइकल इन्डियाले पनि नेपालमा २ जना प्रतिनिधि खटाएको छ। यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज हो।
भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाज अटोले नेपालमा २ जना प्रतिनिधि राखेको छ। नेपालमा बजाजका मोटरसाइक गोल्छा अर्गनाइजेसन अन्तर्गतको हंशराज एन्ड हुलास कम्पनीले बिक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।