सुर्खेत– सिम्ता गाउँपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक सात वटा ऐन निर्माण गरेको छ। जिल्लामै पहिलो पटक हिउँदे अधिवेशन आयोजना गरी सिम्ता गाउँपालिकाले विभिन्न सात वटा ऐन पारित गरेको हो।
हिउँदे सभाले पूर्वाधार विकास ऐन २०७४ पारित गरिएको छ। यस्तै, स्थानीय कृषि व्यवसाय ऐन २०७४, सिम्ता गाउँपालिका स्थानीय शिक्षा ऐन २०७४, बजार अनुगमन ऐन निर्देशिका २०७४ पारित गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए।
त्यसैगरी सिम्ता गाउँपालिकाको रकम विनियोजन ऐन २०७४, सहकारी ऐन २०७४ र सिम्ता गाउँपालिका स्वास्थ तथा सरसफाई ऐन २०७४ पारित गरिएको छ। अध्यक्ष केसीले गाउँपालिका सञ्चालनका लागि तयार गरिएका १५ वटा ऐनमध्ये हिउँदेसभाले सात वटा पारित गरेको जानकारी दिए। थप ऐन नियमहरु आगामी कार्यपालिका बैठकबाट टुंगो लगाइने उनले बताए।
नौ वटा स्थानीय तह रहेको सुर्खेतमा हिउँदेसभा आयोजना गरी आवश्यक ऐन बनाउने सिम्ता पहिलो हो।
सभाबाटै सिम्ता गाउँपालिका सञ्चालन सहजताका लागी विभिन्न समिति गठन गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीको संयोजकत्वमा तीन सदस्यीय न्यायीक समिति गठन गरिएको छ।
यस्तै, गाउँपालिकाका सदस्य नेत्रलाल महताराको संयोजकत्वमा विधान समिति, वडा सदस्य लोकबहादुर शाहीको संयोजकत्वमा लेखा समिति र वडा सदस्य कविराज योगीको संयोजकत्वमा सुशासन समिति गठन गरिएको अध्यक्ष केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।