काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाल बाह्य लगानी भित्र्याउनका लागि क्रियाशील रहेको बताएकी छन्। भारतको मध्यप्रदेश राज्यको इन्दौरमा २०औं सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा संबोधन गर्दै अध्यक्ष राणाले नेपालले रोजगारी सिर्जना गर्न समेत जोड दिएको बताएकी छन्।
एसियाटिक लिबरल मल्टिफेरियस एसोसिएसन र वर्ल्ड बुक्स अफ रेकर्डस्को संयुक्त तत्वावधानमा आयोजना गरिएको कार्यक्रममा आइतबार अध्यक्ष राणाले सम्बोधन गरेकी हुन्। अध्यक्ष राणाले नेपाल भारत बीचको आपसी सम्बन्धका बारेमा चर्चा गदै नेपालको आर्थिक विकासमा आपसी सहयोग र सहकार्यमा जोड दिएकी छन्।
'बाह्य लगानी आकर्षण गरी मुलुकभित्र रोजगारी सृजना गर्न नेपाल सरकार तथा निजी क्षेत्रको जोड रहेको छ। यसका लागि आवश्यक मानव संशाधन विकास र स्वरोजगार सृजनामा एएलएमए र वर्ल्ड बुक्स अफ रेकर्डस् जस्ता संस्थासँग सहकार्य गर्न महासंघ तयार छ,' अध्यक्ष राणाले भनिन्।
नेपाल राजनीतिक स्थिरतासँगै आर्थिक विकासको मार्गमा अघि बढेको र बाह्य लगानी आकर्षणका लागि समेत क्रियाशिल रहेकाले रोजगारी सृजना हुने क्षेत्रमा सहकार्य गर्न भारतीय उद्यमीहरूलाई उनको आग्रह थियो।
यी दुबै संस्थाका उद्देश्य महासंघका समान रहेको भन्दै अध्यक्ष राणाले दीगो सामाजिक आर्थिक विकासको प्रवद्र्धन, वातावरणमैत्री व्यवसाय तथा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, संस्थागत सुशासन, यूवा तथा महिला उद्यमशीलताको प्रवद्र्धन, नयाँ नयाँ व्यवसायको प्रवद्र्धनमा महासंघ क्रियाशिल रहेको बताएकी थिइन्।
महासंघ दुवै संस्थासंग आगामी दिनमा सहकार्य गर्न इच्छुक रहेको उनको धारणा थियो।
भारतका सरकारी, निजी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रमका अवसरमा अध्यक्ष राणाले कार्यक्रमका दौरान विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।