काठमाडौं- नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुक रहेको मलेसिया रोजगारी बन्द भएसँगै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको छ।
साउन महिनामा ३२ हजार ४ सय ८ जना श्रमिकहरुले मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्विकृति लिएर विदेशिएका छन्।
केही हदसम्म मलेसिया रोजगारी बन्दका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको र आन्तरिक रोजगारीको अवसर सिर्जनासँगै वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको श्रम मन्त्रालयको दाबी छ।
आन्तरिक रोजगारीका अवसरका कारण नभएर मलेसिया रोजगारी बन्दका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दै गएको व्यवसायीहरुको दाबी छ।
मलेसिया रोजगारी बन्दसँगै फ्री-भिसा र फ्री-टिकट नीति कार्यान्वयन नहुँदा उचित डिमाण्ड ल्याउन नसकेको र रोजगारीका अवसर खुम्चिँदै गएकाले श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तानाको भनाइ छ।
गत असारमा पनि ३९ हजार कामदारमात्रै विदेशिएका थिए।
त्योभन्दा अगाडिका महिनाहरुमा प्रतिमहिना ४० हजार देखि ६० हजारसम्म कामदार विदेशिने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।