सुरु भयो थरुहट/थारुवान राष्ट्रिय सम्मेलन, सुरक्षा व्यवस्थामा कडाइ [फोटो फिचर]

बुनु थारु | २०७६ भदौ ७ शनिबार | Saturday, August 24, 2019 १७:२०:०० मा प्रकाशित

टीकापुर (कैलाली)- टीकापुर घटनाले ४ वर्ष पूरा गरेको सम्झनामा कैलालीको टीकापुरमा ३ दिने थरूहट/थारूवान राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। थारुवान प्रदेशको माग गर्दै जारी थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनाको सम्झनामा देशभरका थारु अगुवाहरु टीकापुरमा जम्मा भएका हुन्।

सामाजिक सद्भाव, शान्ति प्रवर्द्धनमा टेवा पुग्ने गरी सम्मेलन आयोजना गरिएको बताइएको छ। सिटी हलको प्रांगणमा कार्यक्रम भइरहे पनि चर्को गर्मीका बावजुद पनि हल र चौरमा मानिसको घुइँचो देख्न सकिन्छ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, राजपा अध्यक्ष मण्डलका सदस्य लक्ष्मणलाल कर्ण, पूर्व राजदूत विजय कर्ण,  पत्रकार तथा लेखक किशोर नेपाल, खगेन्द्र संग्रोला, युग पाठक लगायत सहभागी छन्।

कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। सुरक्षाकर्मीहरूले जाँच गरेर पास दिएपछि मात्रै कार्यक्रम स्थलमा प्रवेश दिएका छन्। 

वर्षाका कारण केही समय कार्यक्रम रोकिए पनि फेरि सुचारु भएको छ। वक्ताहरूले सम्बोधन गर्ने क्रम अहिले चलिरहेको छ। उनीहरुले अदालतबाट टीकापुर घटनाको मुख्य दोषी ठहर भई हाल कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीलाई रिहाइको माग गरेका छन्।

कार्यक्रममा सम्बोधन गर्दै पत्रकार तथा लेखक किशोर नेपालले भने, 'जबसम्म रेशम चौधरीको रिहाइ हुँदैन, तबसम्म टीकापुरको घाउ निको हुँदैन।'

लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले अहिलेको संविधान न्याय दिने खालेको नभएको भन्दै अब थारूहरू चेतनशील भइसकेको र यो सिंहदरबारलाई चुनौती भएको बताए।

सम्मेलनमा विभिन्न जिल्लाका १० हजारभन्दा बढी सहभागिता रहेको छ। कार्यक्रममा कैलालीकै स्थानीय मानिसहरू कम जम्मा भए पनि थारू बाहुल्य जिल्लाबाट बरघरको नेतृत्वम सहभागीहरु टीकापुर ओइरिएका छन्।

थरुहट/थारुवान संघर्ष समितिको आह्वानमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको हिंसामा एक वरिष्ठ प्रहरी उपरीक्षकसहित ८ जना सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकले ज्यान गुमाएका थिए। सोही क्रममा भदौ ८ गते स्थानीय फूलबारी एफएम सहित थारु समुदायका दर्जनौं घर र पसलमा क्षति भएको थियो।